बुटवल।
नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत् कटौतीको विरोधमा आयोजित धर्ना कार्यक्रममा बोल्दाबोल्दै नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का उपाध्यक्ष तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य कमल गौतमको निधन भएको छ।
कार्यक्रमका क्रममा ‘अतः यो कारणले…’ भन्ने वाक्य उच्चारण गरेलगत्तै उनी मञ्चमै ढलेका थिए।
उनीलाई तत्काल उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्याइए पनि, अस्पताल पुगेपछि चिकित्सकहरूले मृत घोषणा गरेका थिए।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले गौतमको मृत्यु अस्पतालमा नै भएको पुष्टि गरेका छन्।
बोल्दै गर्दा गौतम केही आक्रोशित बनेका थिए।
उनले विद्युत प्राधिकरण र सरकारलाई उद्योगहरूलाई अन्यायपूर्वक फसाएको आरोप लगाउँदै श्रमिकहरूलाई एकजुट भएर आन्दोलनमा उत्रिन आग्रह गरेका थिए।
उनको अन्तिम वाक्य थियो —
“अतः यो कारणले…”
त्यसपछि उनको बोली लरबरिएको र उनी मञ्चमै ढलेका प्रत्यक्षदर्शीहरूले बताएका छन्।
नेपाल विद्युत प्राधिकरणले ट्रंकलाइन प्रयोग गरेको भन्दै बुटवल–भैरहवा औद्योगिक कोरिडोरका करिब १० उद्योगको विद्युत् लाइन काटेको विरोधमा उद्योगी संघ र मजदुर संगठनहरूले संयुक्त धर्ना आयोजना गरेका थिए।
सोही कार्यक्रममा गौतम मजदुरहरूको तर्फबाट मुख्य वक्ताका रूपमा सहभागी थिए।
६५ वर्षीय गौतम बुटवल उपमहानगरपालिका–३, ज्योतिनगरका स्थायी बासिन्दा हुन्।
उनका दुई छोरा र श्रीमती रहेका छन्।
गौतम लामो समयदेखि श्रमिक अधिकारका निडर अभियन्ता र उद्योगी–श्रमिकबीचको सेतुका रूपमा चिनिँदै आएका थिए।
अस्पताल स्रोतका अनुसार, उनको मृत्युको कारण हृदयघात (Heart Attack) हो।






