मोरङ ।
जिल्ला अदालत मोरङको नाममा कर्मचारी मागिएको नक्कली विज्ञापन देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेको खुलेको छ।
सरकारी जागिर लगाइदिने प्रलोभनमा परेका २७ जनाले ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका छन्।
मोरङ प्रहरीका अनुसार, ठगीमा पुनमदेवी साह संलग्न रहेको खुलेको छ।
ठगी गर्ने समूहले अदालतको नाममा नक्कली विज्ञापन र नक्कली परिचयपत्र प्रयोग गरी पैसा असुलेको पाइएको छ।
अदालतमा करार कर्मचारीका लागि दरखास्त खुल्यो भन्दै विज्ञापन देखाई उक्त समूहले
रु. २,५०० देखि २० हजारसम्म रकम संकलन गरेको अनुसन्धानबाट खुलेको छ।
केही व्यक्तिसँग त रु. २ लाखसम्म असुल गरिएको पीडितहरूको दाबी छ।
ठगिएका मध्ये केहीले प्रहरीमा उजुरी दिएका छन् भने केही धम्कीका कारण उजुरी दिन नसकेको बताइएका छन्।
एक पीडितले भने,
“२७ जनाले उजुरी दिएका छौं, तर ठगिएका अरू धेरै छन्। धम्कीका कारण आउन सकेका छैनन्।”
‘नायब सुब्बा १५ जना, कार्यालय सहयोगी २२ जना र सवारी चालक ५ जना’ माग गरिएको विज्ञापन देखाएर ठगी गरेको पाइएको छ।
त्यो विज्ञापनमा प्रयोग गरिएको परिचयपत्रमा प्रशासन अधिकृतका रूपमा केदारनाथ पौडेलको नाम र हस्ताक्षरसमेत नक्कली रूपमा उल्लेख गरिएको थियो।
प्रहरीका अनुसार, गिरोहले सप्तरी जिल्लामा पनि यस्तै शैलीमा ठगी गरेको प्रारम्भिक तथ्य आएको छ।
डीएसपी कोपिला चुडालका अनुसार, घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको छ।
उनले भनिन्,
“यो गिरोहले विभिन्न जिल्लामा ठगी गरेको प्रारम्भिक तथ्य आएको छ। विज्ञापन र परिचयपत्र दुवै नक्कली हुन्।”
जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले भने,
“अदालतको दरबन्दी लोकसेवाबाट पदपूर्ति हुन्छ। अदालतले कुनै विज्ञापन निकालेको छैन। ठगी गर्ने समूहले नक्कली विज्ञापन देखाएर सर्वसाधारणलाई भ्रममा पारेको देखिन्छ।”






