बाजुरा ।
बाजुराको बुढीगंगा नगरपालिका–५ स्थित भानोदय माध्यमिक विद्यालयमा गणित शिक्षिकाका रूपमा कार्यरत २७ वर्षीया जानकी खड्काले विवाहको दबाब सहन नसकी आत्महत्या गरेकी छन्।

डोटीको पूर्वीचौकी गाउँपालिका–१ घर भएकी जानकीले मृत्युअघि लेखेको सुसाइड नोटमा ‘विवाहको दबाब झेल्न नसकेर यो बाटो रोजेको’ उल्लेख गरेकी छिन्।

जानकी कैलाली बहुमुखी क्याम्पसमा स्नातकोत्तर चौथो सेमेस्टरमा अध्ययनरत थिइन्। उनले सुसाइड नोटमा आफ्ना बुबा र भाइलाई सम्बोधन गर्दै लेखेकी छन् —

“आदरणीय ड्याडी, सरी, म हजुरको सपना पूरा गर्न सकिनँ। मैले दबाब झेल्न नसकेरै यो बाटो रोजेकी हुँ।”

विवाह नगरे मार्ने धम्की

सुसाइड नोटअनुसार, डोटी जिल्ला शिक्षा समन्वय एकाइका शिक्षा अधिकृत तथा विद्यालय निरीक्षक गणेशबहादुर रावलले जानकीलाई विवाहका लागि निरन्तर दबाब दिएको उल्लेख छ।
रावलले सामाजिक सञ्जाल फेसबुकमार्फत सम्पर्क गरी विवाह प्रस्ताव राखेका, प्रस्ताव अस्वीकार गरेपछि जानकीका भाइ प्रदीपलाई फोन गरेर धम्कीसमेत दिएको खुलासा सुसाइड नोटमा गरिएको छ।

जानकीले लेखेकी छन् —“न मैले उसलाई भेटेको छु न देखेको छु। सबै उसका नाटक हुन् मलाई फसाउने। बाबाआमाको इज्जत गुमाएर, तिमीहरूलाई नराम्रो संस्कार सिकाएर, कसैको श्रीमान् र बुवा भइसकेको मान्छेसँग जीवन जिउन सक्दिनँ।”

रुखमा झुण्डिएको अवस्थामा फेला

कार्तिक १० गते, जानकी आफ्नै घरदेखि करिब ७ सय मिटर टाढा खोलाको किनारमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।
उनका बुबा चक्रबहादुर खड्काले विद्यालय निरीक्षक गणेशबहादुर रावलविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी जिल्ला प्रहरी कार्यालय डोटीमा दर्ता गराएका छन्।

प्रहरीले रावललाई कार्तिक ११ गते पक्राउ गरी म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ।

सञ्चारकर्मी सरिता कठायतले यो घटनाले महिलामाथि हुने मानसिक, सामाजिक र संस्थागत दबाबको डरलाग्दो तस्वीर उजागर गरेको बताउँदै “न्याय प्रणालीमाथि नै प्रश्न उठाउने घटना” भएको टिप्पणी गरेकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय