डोटी ।
डोटीमा एक शिक्षिका मृत फेला परेकी घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पूर्वीचौकी गाउँपालिका–१ तल्लो फुलौटकी २७ वर्षीया जानकी खड्का मृत भेटिएकी थिइन्।
उक्त घटनामा **शिक्षा तथा समन्वय एकाइ डोटीमा विद्यालय निरीक्षक (विनि)**का रूपमा कार्यरत २८ वर्षीय गणेश रावललाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पालका अनुसार मृतक पक्षले दिएको किटानी जाहेरीका आधारमा शिखर नगरपालिका–११ घर भएका रावललाई पक्राउ गरिएको हो।
मृतक खड्का बाजुराको भानुदय नमुना माध्यमिक विद्यालय, बुढीगंगा–५ मा गणित विषयकी स्थायी शिक्षिका थिइन्।
गत सोमबार दिउँसोदेखि सम्पर्कविहीन भएकी उनी घरदेखि करिब ७०० मिटर टाढा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।
प्रारम्भिक अनुसन्धानअनुसार, सामाजिक सञ्जाल (फेसबुक) मार्फत जानकी र गणेशबीच चिनजान भएको र त्यसपछि उनीहरूबीच प्रेमसम्बन्ध बनेको खुलेको छ।
प्रहरीका अनुसार, रावलले दिइरहेको मानसिक दबाबका कारण जानकी आत्महत्या गर्न बाध्य भएकी हुन्।
जानकी खड्काको कोठामा मोबाइल कभर पछाडि लेखिएको सुसाइड नोट फेला परेको छ।
दुई वर्षअघि सरकारी सेवा प्रवेश गरेकी जानकी परिवारकी जेठी सन्तान थिइन्।
भाइ प्रदीप खड्काका अनुसार, परिवार उनको आम्दानीमै निर्भर थियो।
परिवारको दाबीअनुसार, गणेश रावलले दिदीसँग विवाह गर्ने दबाब दिँदै धम्कीसमेत दिएका थिए।
डीएसपी पालका अनुसार, रावलले यसअघि नै विवाह गरेर सन्तानसमेत भएको पुष्टि भएको छ।
हाल उनलाई आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।






