सुर्खेत ।
कर्णालीमा तिहारको आसपासमा मनाइने परम्परागत भुवा जात्रा यस वर्ष पनि धुमधामले मनाइयो। तर, पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–१०, घाटगाउँमा लागेको सोही जात्रा एक युवाको ज्यान जाने घटनाले दुःखद बन्न पुग्यो।
रमाइलो हेर्न पुगेका चौकुने–७, गुटुका २१ वर्षीय भुवन धमला अब कहिल्यै घर फर्किएनन्। उनी आफ्नै **भतिज २० वर्षीय हेमन्त धमला (हिरा प्रसाद धमला)**सँग जात्रामा गएका थिए।
कात्तिक ३ गते राति जात्रामा गएका भुवन ४ गते बेलुकासम्म पनि घर नफर्केपछि परिवारले खोजी सुरु गर्यो। तीन दिनको खोजीपछि कात्तिक ७ गते तामाधारा खोलाको ताताथाई भन्ने ठाउँमा उनको शव फेला पर्यो।
शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि प्रहरीले हत्या भएको निष्कर्ष निकाले।
अनुसन्धानका क्रममा प्रहरीले हेमन्तको ज्याकेटमा रगत लागेको पत्ता लगायो।
त्यसपछि उनलाई निगरानीमा राख्दा उनको व्यवहार शङ्कास्पद देखियो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार,
“घटनास्थल, प्राविधिक प्रमाण र बयानको आधारमा हेमन्तले नै भुवनको हत्या गरेको पुष्टि भएको छ।”
प्रहरीका अनुसार जात्राको रातमा दुबैले मदिरा सेवन गरेका थिए। सोही क्रममा मोबाइल र पैसाका विषयमा विवाद सुरु भएको थियो।
विवाद बढ्दै गएपछि राति करिब १२ बजे हेमन्तले काकालाई निर्घात कुटपिट गरेका थिए।
त्यही कुटपिटकै कारण भुवनको मृत्यु भएको प्रहरीको निष्कर्ष छ।
भुवन रोजगारी गरेर परिवार चलाउने मेहनती युवा थिए।
आगामी तिहारमा दिदीको हातबाट टीका लगाउने सपना बोकेर हिँडेका उनी अब फर्किन सकेनन्।
उनकी एउटी दिदी र वृद्ध बुबाआमा अहिले गहिरो शोकमा छन्।
मृतकका आफन्तले हेमन्तकै नाममा किटानी जाहेरी दिएका छन्।
प्रहरीले उनलाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा पक्राउ गरी म्याद थप गरेर अनुसन्धान जारी राखेको छ।
तर, चौकुने–७ का वडाध्यक्ष धनिराम धमला भन्छन्,
“हेमन्तले बयान फरक–फरक दिइरहेको छ। घटनामा अरूको पनि संलग्नता हुनसक्छ।”
उनका अनुसार,
“घटनास्थलबाट १० मिटर टाढा जुत्ता, लाइटर र मोबाइल भेटिएको छ। यी सबै वस्तु ल्याबमा परीक्षण गरेर थप अनुसन्धान गर्नुपर्छ।”






