काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरी सहायक हवल्दार अमृत गुरुङको हत्या आरोपमा पक्राउ परेका मध्ये एक युवक क्रिकेट खेल सिक्दै आएका व्यक्ति भएको खुलेको छ।
काठमाडौंको ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा तालिम लिइरहेका १९ वर्षीय अनुपम भण्डारीलाई प्रहरीले कैलालीबाट पक्राउ गरेको हो। भण्डारी कैलालीको लम्कीचुहा नगरपालिका–४ का स्थायी बासिन्दा हुन्।
प्रहरीका अनुसार, भण्डारी केही महिनाअघि भारतको बैंगलोर पुगेर दुई हप्ता क्रिकेट प्रशिक्षण लिएर नेपाल फर्किएका थिए। त्यसपछि उनी काठमाडौंमा एकेडेमीमार्फत प्रशिक्षणमा सहभागी हुँदै आएका थिए।
२३ भदौको गोलीकाण्डपछि रिस र आक्रोशमा आन्दोलनमा पुगेको स्वीकार्दै उनले प्रहरीसमक्ष बयान दिएका छन्।
“त्यो दिनको घटनाले निकै रिस उठायो। त्यसैले २४ भदौमा आन्दोलनमा गइ प्रहरीमाथि चक्कु प्रहार गरेँ,” भण्डारीको बयानमा उल्लेख छ।
भण्डारीमाथि प्रहरीको भिडियो प्रमाणका आधारमा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरिएको छ। पक्राउका बेला प्रहरीले उनले लगाएको कपडा समेत बरामद गरेको जनाएको छ।
२४ भदौको जेनजी आन्दोलनमा कोटेश्वरस्थित प्रहरी प्रभाग आन्दोलनकारीको निशानामा परेको थियो। भीडले कार्यालयमा तोडफोड, आगजनी र लुटपाट गरेको थियो।
आफ्नो ज्यान जोगाउने प्रयासमा रहेका सहायक हवल्दार गुरुङमाथि धारिलो हतियारले प्रहार भएपछि उनी ढलेका थिए। भीडले कुटपिट गर्दै उनको हत्या गरेको थियो।
गुरुङले ९ महिनाअघि आमा गुमाएका थिए। उनी सात महिनाको छोरा, श्रीमती र ६० वर्षका बाबुका आश्रय थिए।
प्रहरीका अनुसार, घटनामा संलग्न करिब दुई दर्जन व्यक्तिलाई हालसम्म पक्राउ गरी अनुसन्धान भइरहेको छ।
जेनजी आन्दोलनमा देशभर ७६ जनाको मृत्यु भएको थियो, जसमा ३ जना प्रहरी पनि थिए।






