काठमाडौं — जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न आरोपी भुवन शाही पहिले नै नेपाली सेनाबाट बर्खास्त भएको खुलेको छ।
प्रहरीले जानकारी दिए अनुसार, कञ्चनपुरको बेलौरी नगरपालिका–१ घर भई काठमाडौं धापासी कृष्ण मन्दिर बस्ने २७ वर्षीय शाहीलाई सोमबार मिनभवनबाट पक्राउ गरिएको हो।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दानबहादुर कार्कीका अनुसार शाही २०७४ सालमा नेपाली सेनामा प्रवेश गरेका थिए र २०७५ सालमा नक्कली चालक लाइसेन्स पेश गरेको कारण बर्खास्त भएका थिए।
प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। अनुसन्धानका क्रममा फुटेजमा शाही २४ भदौको जेनजी आन्दोलनमा प्रहरी वृत्त गौशाला तोडफोड, आगजनी, लुटपाटमा संलग्न देखिएका छन्।
शाहीले बानेश्वरस्थित ग्लोबल कलेजमा प्रवेश गरी सामान लुटेको पनि फुटेजमा देखिएको छ। प्रहरीका अनुसार उनले लुटेका वस्तुहरुमा मोटरसाइकल, राइट कन्ट्रोल गियर, २ थान ट्रफी, गणेशको मूर्ति र क्यानन कम्पनीको DSLR क्यामेरा छन्।
प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।






