काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका छन्।
नेपालबाट ठमठम हिँडेर विमानस्थल पुगेका देउवा दम्पती सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा ह्वीलचेयरमा बाहिरिँदै देखिए।
उनीहरु गएराति काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर एयरलाइन्सको विमानमार्फत प्रस्थान गरेका थिए। जेनजी आन्दोलनको क्रममा भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो र घरमा आगजनी पनि भएको थियो।
लामो समयसम्म सार्वजनिक रूपमा नदेखिएका देउवा दम्पती असोज २८ गते पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति बैठकबाट बाहिर आएका थिए। त्यसपछि उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेर देउवा उपचारका लागि विदेश प्रस्थान गरेका हुन्।






