सिंहदरबार प्रहरी वृत्तको सानो हिरासतमा आज पनि एउटा मात्र ढोका बन्द छ। त्यो ढोकाभित्र छन्—गायक तथा संगीतकार बबुल गिरी। बाहिर सहरको कोलाहल छ, भित्र भने मौनता र आत्ममन्थन।

गिरीमाथि प्रेमिका नीतु पौडेलको आत्महत्या दुरुत्साहनको अभियोग लागेको छ। नीतुले कात्तिक १ गते अनामनगरस्थित उनको स्टुडियोभित्र आफ्नै शरीरमा आगो लगाएकी थिइन्। कीर्तिपुर बर्न अस्पतालमा सात दिनसम्म संघर्ष गरेकी नीतुको कात्तिक ७ गते निधन भयो।

त्यो दिनकै साँझ, बाबुल गिरी आफैँ प्रहरी कार्यालय पुगे। उनले भनेका थिए — “म बुबाको बरखी बारिरहेको छु, भाग्दिनँ, म आउँछु।” त्यसपछि उनलाई यहीँ — सिंहदरबार प्रहरी वृत्तको हिरासतमा राखियो।

जेनजी आन्दोलनपछि प्रहरीले सामान्य झगडा वा मापसेका थुनुवा जिल्ला प्रहरी परिसर पठाउने नीति लिएको छ। त्यसैले अहिले सिंहदरबार प्रहरी वृत्तमा गिरी एक्ला थुनुवा हुन्।
हिरासतमा बसेका प्रहरीले भने,

“उहाँ बुबाको बरखी चलिरहेकाले नितो खान खोज्नुहुन्छ, तर हिरासतमा चोखो–नितो कहाँ पाइन्छ र?”

पहिला दुई दिन त उनले केवल अम्बा खाएरै समय काटे। पछि प्रहरी मेसको शाकाहारी खाना खान थाले।
जेनजी आन्दोलनको बेलामा त्यहाँको क्यान्टिन जलेको थियो। नयाँ क्यान्टिन अझै बनेको छैन। त्यसैले प्रहरीहरूकै मेसबाट खाना पाकेर उनलाई दिइन्छ।

प्रहरीसँगको सोधपुछमा बाबुलले भावुक हुँदै भनेका छन् —

“म काम गरिरहेको थिएँ, उनी अचानक आएर आगो लगाइन्। मैले बचाउने प्रयास गरेँ, तर सकिनँ।”

गिरीका नजिकका साथीहरूले पनि उनको पक्षमा बोलेका छन्। उनीहरूका अनुसार,

“बाबुले नीतुलाई छोड्न खोजेका थिएनन्। बुबाको बरखी सकिएपछि बिहे गर्ने तयारीमै थिए।”

तर नीतुको परिवारको कथा फरक छ। उनीहरू भन्छन् —

“नीतुले अन्तिम साससम्म पनि बाबुलको नाम लिइरहेकी थिई। उसले युज एन्ड थ्रो गर्‍यो।”

स्रोतका अनुसार, गिरी भेट्न आउनेहरूलाई बारम्बार एउटै कुरा भन्छन् —“नीतुले मलाई जुठो खप्ट्याएर गइन्।”

उनीमाथि अहिले आत्महत्या दुरुत्साहनको उजुरीमा अनुसन्धान चलिरहेको छ। प्रहरी परिसरले म्याद थप्दै अनुसन्धानलाई अगाडि बढाएको छ।

सिंहदरबार प्रहरी वृत्तको त्यो सानो कोठामा, गायक बाबुल गिरी बुबाको मृत्युको बरखी, प्रेमिकाको मृत्युको आरोपमा मौन छन् ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय