काठमाडौं
आशिका तामाङले आफ्ना फाउन्डेसन “आशिका फाउन्डेसन” मार्फत् विकट जिल्लाका बालबालिकाका लागि न्यानो लुगा अभियान चलाइरहेकी छन्। अभियानको आकर्षक पक्ष भनेको एक रुपैयाँ चन्दा अभियान हो, जसमा हजारौँ नेपाली सहभागी भइसकेका छन्।
अभियानमा सहभागी हुन इच्छुकले फाउन्डेसनको लिंकमार्फत् डोनेट अप्सनमा क्लिक गरी आफूले चाहेको रकम पठाउन सक्नेछन्। तर हालै एकजना चन्दादाताले ७ रुपैयाँ दिने क्रममा भुलवश ७ हजार रुपैयाँ ट्रान्सफर गरे।
यस घटनाबारे जानकारी दिँदै आशिकाले सामाजिक सञ्जालमा लेखेकी छन्,
“एकजनाले सात रुपैयाँ डोनेसन गर्न खोज्दा ७००० रुपैयाँ झुक्किएर ट्रान्सफर भएको रहेछ। उहाँले रकम फिर्ता माग्नुभएको रहेछ। सबैलाई विनम्र अनुरोध के हो भने, यो संस्था हो। संस्थामा आएको रकम मैले स्वेच्छाले चलाउन सक्दिनँ र फिर्ता दिन पनि सक्दिनँ।”
आशिकाले थपेकी छन् कि, संस्थाको खाताबाट पैसा निकाल्न सात जना सदस्यको सहमति आवश्यक छ र चेक कोषाध्यक्ष र अध्यक्षको सिग्नेचरपछि मात्र रकम चलाउन सकिन्छ।
त्यसैले, चन्दा पठाउँदा रकम राम्ररी जाँच गरेर मात्र पठाउन उनी सबैलाई आग्रह गरेकी छन्।






