नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले सरकारविरुद्ध सडक आन्दोलनमा जाने चेतावनी दिएको छ।
सोमबार तरुण दलको स्थापना दिवसको अवसरमा अध्यक्ष विद्वान गुरुङले यस्तो घोषणा गर्दै मुलुकमा व्यवस्था जोगाउन र संगठनको अस्तित्व सुरक्षा गर्न अब चुप बसेर बस्ने अवस्था नरहेको बताए।
सोमबार नेपाल तरुण दलको स्थापना दिवस पारेर सो घोषणा गरिएको हो। अध्यक्ष विद्वान गुरुङले मुलुकमा व्यवस्था जोगाउन र आफूहरुको अस्तित्व रक्षाका लागि पनि आफूहरुले अब चुप लागेर बस्ने अवस्था नभएको बताए।
उनले दुर्गा प्रसाईं, सुदन गुरुङहरूले आफूहरूको अस्तित्वमाथि नै धावा बोलिरहेको जिकिर गर्दै अब सडक संघर्षलाई अघि बढाउनका लागि तयार अवस्थामा रहन पनि तरुण दलका नेता, कार्यकर्तालाई निर्देशन दिए। अध्यक्ष गुरुङले नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई झोलेको रुपमा चित्रण गर्ने काम भईरहेको भन्दै आक्रोश समेत व्यक्त गरे।
उनले भने, ‘आज एउटा कुनै दुर्गा प्रसाईंले छठ पछि आन्दोलनको घोषणा गरेको छ। एउटा कुनै अभियन्ता गुरुङले आगामी १६ गतेबाट आन्दोलनको घोषणा गरेको छ। केही जेनजी पुस्ताहरूले पनि फेरि नेपाली कांग्रसका कार्यकर्ताहरूलाई झोलेको रुपमा हाम्रा परिवारहरुलाई विभिन्न सामाजिक सञ्जालमा हालेर हामीलाई ट्रोल बनाउने काम भइरहेको छ। यसैले म तरुण दलका साथीहरूलाई म के आग्रह गर्न चाहन्छु भने हामी चुप लागेर बसेर मात्रै मुलुकमा शान्ति हुँदो रहेनछ। यदि यो मुलुकको व्यवस्था जोगाउने हो भने, यदि तपाई हाम्रो अस्तित्व जोगाउने हो भने अब यिनीहरूको विरुद्ध सडकमा भिड्ने हो। यो भन्दा अब अर्को विकल्प नै छैन।’
गुरुङले भदौ २४ गतेको विध्वंस रोक्न नसकेकोमा क्षमा माग्दै, अब त्यस्तो अवस्था दोहोरिन नदिन सजग रहने बताए।
“२३ गतेको घटना हामीले समर्थन गरेका थियौं, तर २४ गतेको घटना रोक्न सकेनौं। त्यसैले ठूलो क्षति व्यहोर्नुपर्यो। अब आउने कुनै पनि आन्दोलनमा तरुण दल सजग र तयारी अवस्थामा रहनेछ।”
अध्यक्ष गुरुङले आफ्ना साथीहरूलाई आगामी दिनमा सक्रिय र सतर्क रहन पनि आग्रह गरे।






