भक्तपुर/काठमाडौं
काठमाडौंमा विभिन्न स्थानबाट सिक्री लुटपाट गर्ने समूहका ३ जनालाई प्रहरी नियन्त्रणमा लिएको छ।
प्रहरीले सिक्री लुटेको आरोपमा सिन्धुली हरिहरगढी–६ घर भई भक्तपुर बस्ने २८ वर्षीय राज लामा र उदयपुर ताप्ले–४ का विशाल मगरलाई पक्राउ गरेको छ।
त्यस्तै, लुटिएको सामान किनेको आरोपमा रामेछाप लिखु तामाकोशी–६ घर भएका ३२ वर्षीय दिलबहादुर बिकलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
प्रहरीका अनुसार, असोज २३ गते बिहान ११ बजेको समयमा काठमाडौं गैरीगाउँस्थित सडक खण्डबाट सिक्री लुटिएको थियो। त्यसैगरी, कात्तिक १ गते दिउँसो २ बजे नागार्जुन–६ बाट विष्णु पाण्डेको मोटरसाइकलमा आएर अर्को सिक्री लुटपाट गरिएको घटनामा पनि ती व्यक्तिहरू संलग्न रहेको खुलेको छ।
मोटरसाइकलमा हिँड्दै लुटपाट गर्ने व्यक्तिलाई भक्तपुरबाट खटिएको टोलीले आइतबार पक्राउ गरेको थियो। अनुसन्धानको क्रममा लुटिएको सामान बिकले किनेको खुल्दा उनलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।






