सुर्खेत
कालिकोटको दुर्गम गाउँबाट आकस्मिक रूपमा उद्धार गरी सुर्खेत ल्याउँदै गर्दा हेलिकप्टरमै जन्मिएकी शिशुको बाटोमै मृत्यु भएको छ।
रक्तस्रावको समस्या भएपछि कालिकोटको तिलागुफा नगरपालिका–९ की २० वर्षीया अबिसा खत्रीलाई सोमबार बिहान ९ बजेतिर नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याइँदै थियो।
कर्णाली प्रदेश अस्पतालका वरिष्ठ नर्सिङ अधिकृत कल्पना थापाका अनुसार, अबिसालाई राति १ बजेदेखि नै रक्तस्राव भइरहेको थियो। परिवारले उनलाई बिहानै चिलखाया स्वास्थ्य संस्थामा पुर्याए पनि अवस्था गम्भीर देखिएपछि कर्णाली प्रदेश अस्पताल रिफर गरिएको थियो।
सुत्केरी व्यथाले बेस्सरी च्यापेपछि हेलिकप्टरमै बिहान ९ बजेर ५० मिनेटमा शिशु जन्मिएको थापाले बताइन्।
‘शिशु जन्मिएपछि केही बेर रोएको बताइएको छ,’ थापाले भनिन्, ‘तर १० बजेर ३० मिनेटमा कर्णाली प्रदेश अस्पतालमा आइपुग्दा शिशु जीवित रहेन।’
अस्पताल पुर्याउँदासम्म शिशुको मृत्यु भइसकेको चिकित्सकहरूले पुष्टि गरेका छन्।
थापाका अनुसार, अबिसाको गर्भ २४ हप्ता ६ दिनको मात्र थियो। “२४ हप्ताको शिशु सामान्यतया बाँच्ने सम्भावना न्यून हुन्छ, त्यसमा पनि रक्तस्राव र हेलिकप्टरमै जन्मिएका कारण जोखिम झन् बढेको हो,” उनले भनिन्।
शिशुको ज्यान गए पनि आमा अबिसाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी अहिले कर्णाली प्रदेश अस्पतालमा चिकित्सकको निगरानीमा रहेको अस्पतालले जनाएको छ।






