मकवानपुर

मकवानपुरको मनहरी गाउँपालिका–७ लच्कास्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

बागमती प्रदेश २–०५७ प ३२३० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको एन एल–०१–एन–०२८० नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा सिन्धुपाल्चोकको चौतारा नगरपालिका–५ निवासी ३० वर्षीय केदार श्रेष्ठको ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएको थियो। तर, अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक पुस्कर बोगटीका अनुसार, मृतकको शव हेटौंडा अस्पतालमा राखिएको छ।

स्कुटरमा श्रेष्ठसँगै उनकी २८ वर्षीया श्रीमती सरस्वती श्रेष्ठ र २ वर्षीय छोरा प्रविन श्रेष्ठ पनि सवार थिए। दुर्घटनामा सरस्वती गम्भीर घाइते भएकी छन् भने छोरा प्रविनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

हाल सरस्वतीको उपचार चितवनस्थित एलाईभ अस्पतालमा भइरहेको छ।

यसैबीच, ग्यास बुलेट चालक भारतको बिहार निवासी ५५ वर्षीय मोहमद मतिनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय