वाशिङटन / मलेसिया — अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसिया भ्रमणमा रहेका बेला अमेरिकी नौसेनालाई ठूलो झट्का लागेको छ।
अमेरिकी प्रशान्त फ्लिटका अनुसार आइतबार दक्षिण चीन सागरमा अमेरिकी नौसेनाको हेलिकप्टर र लडाकु विमान करिब ३० मिनेटको फरकमा दुर्घटनामा परेका हुन्।
सौभाग्यवश, दुवै घटनामा चालक दलका सबै सदस्यहरू सुरक्षित रूपमा उद्धार भएका छन्।
अमेरिकी नौसेनाले आइतबार साँझ सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेको छ —
समुद्री स्ट्राइक स्क्वाड्रन (HSM-73) अन्तर्गतको एक MH-60R सी हक हेलिकप्टर आइतबार दिउँसो स्थानीय समय अनुसार २:४५ बजे विमानवाहक जहाज USS Nimitz बाट नियमित मिसनका क्रममा उडेको थियो।
तर केही समयपछि समुद्रमा दुर्घटनाग्रस्त भयो।
त्यसपछि सोही क्षेत्र नजिकै अर्को F/A-18F Super Hornet लडाकु जेट पनि दुर्घटनामा परेको अमेरिकी नौसेनाले पुष्टि गरेको छ।
एमएच–६०आरका चालक दलका तीन जना र सुपर हर्नेटका दुई जना पाइलटलाई सफलतापूर्वक उद्धार गरिएको बताइएको छ।
दुवै दुर्घटनाको कारणबारे छानबिन सुरु गरिएको छ।
दक्षिण चीन सागर विश्वका सबैभन्दा संवेदनशील र विवादित समुद्री क्षेत्रहरूमध्ये एक हो।
चीन, भियतनाम, फिलिपिन्स, मलेसिया, ब्रुनेई र ताइवानले यस क्षेत्रमा आ–आफ्नो दाबी गरेका छन्।
तर बेइजिङले अन्तर्राष्ट्रिय अदालतको फैसला बेवास्ता गर्दै प्रायः सम्पूर्ण जलमार्ग आफ्नो नियन्त्रणमा रहेको दाबी गर्छ।
गत दुई दशकमा चीनले यस क्षेत्रमा कृत्रिम द्वीप र सैन्य प्रतिष्ठान निर्माण गरेर आफ्नो उपस्थितिलाई बलियो बनाएको छ, जसले अमेरिकी स्वतन्त्र नेभिगेसन अभियान (Freedom of Navigation Operations) लाई प्रत्यक्ष चुनौती दिएको छ।
अमेरिकी नौसेना नियमित रूपमा दक्षिण चीन सागरमा उपस्थित रहँदै आएको छ,
जसको उद्देश्य अन्तर्राष्ट्रिय समुद्री अधिकार र मुक्त आवागमन कायम राख्नु हो।
विश्लेषकहरूको भनाइमा, ट्रम्पको मलेसिया भ्रमणका क्रममा घटेको यो दुर्घटनाले
अमेरिकाको प्रशान्त क्षेत्रको रणनीतिमा नयाँ कूटनीतिक दबाब सिर्जना गर्न सक्छ।





