पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ भदौरका ५२ वर्षीय बखतसिंह सिंगक लिम्बूले आफ्नै छोराको हत्या गरेका छन्।
मादक पदार्थ सेवन गरेका अवस्थामा लिम्बूले आइतबार अपराह्न १७ वर्षीय छोरा सफल सिंगकलाई घर पछाडिको बारीमा भरुवा बन्दुक प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
गोली लागेर सफलको शरीरका विभिन्न भागमा गम्भीर चोट पुगेको थियो र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
घटनापछि प्रहरी टोलीले बखतसिंह सिंगक लिम्बूलाई हत्या अभियोगमा बन्दुकसहित नियन्त्रणमा लिएको छ।
शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।






