काठमाडौं। आगामी फागुन २१ गतेका लागि तय भएको चुनावलाई लक्षित गर्दै नयाँ राजनीतिक समीकरण बन्ने तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बालेन्द्र साह, कुलमान घिसिङ, सुदन गुरुङ, गोपी हमाललगायतका समूहबीच एउटै शक्तिका रूपमा चुनाव लड्ने समझदारी लगभग पक्का भएको छ।
वार्तामा सहभागी नेताहरूका अनुसार दलको नाम रास्वपा नै रहने, तर केही सर्तमा भने अझै टुंगो लागेको छैन ।
मुख्य प्रस्ताव: रबि सभापति, कुलमान उपसभापति
सहमतिको खाका अनुसार रविलाई पार्टीको सभापति र उर्जामन्त्री कुलमान घिसिङलाई उपसभापति बनाउने प्रस्ताव गरिएको छ।
बालेन, सुदन र गोपी निकट नेताहरूको बुझाइमा यस्तो संयोजनले पार्टी “सर्वस्वीकार्य र स्थिर” देखिनेछ र २ तिहाइ बहुमत ल्याउने सम्भावना बलियो हुनेछ।
हाल सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दामा रास्वपा सभापति रवि लामिछाने एक वर्षदेखि कारागारमा छन्।
वार्तामा सहभागी नेताहरूले उनले मुद्दाको किनारा लाग्दासम्म कार्यकारी भूमिका नलिन आग्रह गरेका छन्।
रविले आफु कार्यकारी भूमिकाबाट पछि हट्न तयार भएको पनि बताएका छन् तर रबि निकट नेताहरुले भने यो स्वीकारेका छैनन् ।
बालेनका सहयोगी कुमार बेनदेखि सुदन गुरुङलगायतले भने “रविलाई संरक्षक वा सर्वोच्च नेता”को रूपमा राख्ने प्रस्ताव गरेका छन्।
“रवि सभापति हुँदा नयाँ आउने व्यक्तित्वलाई गाह्रो हुन्छ। मुद्दा किनारा नलागेसम्म उनी संरक्षक बसेर नेतृत्व कुलमानले लिन सक्थे,” एक नेताले बताए ।
बालेनका सहयोगीले केही दिनअघि नख्खु कारागार पुगेर रविसँग भेट गरेका थिए।
उनले “सबै मिलेर जानुपर्छ, कुलमान सभापति र रवि संरक्षक” बन्ने प्रस्ताव दिएका थिए।
यो प्रस्तावमा रविले नकारात्मक प्रतिक्रिया नदिए पनि उनका नजिकका केही व्यक्तिहरूले विरोध गरेको बताइन्छ।
“मप्रति अन्याय भएको छ। सरकारले मलाई निकाल्नुपर्यो। कारागारभित्र बसेर सभापति छोड्ने कुरा न्यायोचित हुँदैन,”रवि लामिछानेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।
रास्वपाका सहमहामन्त्री गणेश पराजुलीका अनुसार पार्टीले अहिले सबै पक्षसँग संवाद गरिरहेको छ।
उनका अनुसार,“कांग्रेस, एमाले र माओवादीको पुरानो विरासत तोड्नका लागि नयाँ सहकार्य आवश्यक छ। धेरै कुरा सकारात्मक दिशामा छन्, केहीमा नतिजा आउन बाँकी छ।”
जेनजी आन्दोलनका प्रतिनिधि पुरुषोत्तम यादवले पनि रास्वपा, बालेन, कुलमानलगायतलाई एउटै प्लेटफर्ममा ल्याउने प्रयास भइरहेको बताए।
तर, रास्वपाका केही केन्द्रीय सदस्यहरू भने रविलाई सभापति पदबाट हटाएर बाहिरका व्यक्तिलाई नेतृत्व दिन कडा विरोधमा छन्।
कुलमान, बालेन, सुदन गुरुङ र रास्वपा नेतृत्वबीचको सहकार्य सफल भएमा नेपाली राजनीतिमा नयाँ समीकरण बन्ने निश्चित देखिन्छ।






