काठमाडौं । आजै युवा तथा खेलकुद मन्त्री बनेका बब्लु गुप्तामाथि शोभा पाठकले गम्भीर आरोप लगाएकी छिन्।
एक युट्युब च्यानलसँग कुरा गर्दै उनले गुप्ताले नेकपा एमाले नेता महेश बस्नेतसँग मिलेर आफूलाई व्यवसायी दुर्गा प्रसाईंविरुद्ध मुद्दा हाल्न धम्की दिएको दाबी गरेकी हुन्।
पाठकका अनुसार दुर्गा प्रसाईं र बस्नेतबीच ‘वार कि पार’को अवस्था रहेको समयमा उनलाई “मुद्दा हाल्न” दबाब दिइएको थियो।
पाठकले भनिन्,“त्यो बेला दुर्गा प्रसाईंविरुद्ध मुद्दा हाल्ने कुरा उठ्यो तर म सहमत थिइनँ। त्यसपछि महेश बस्नेतलगायतले मलाई पेप्सीकोलास्थित एउटा घरमा लगे। त्यहाँ बब्लु गुप्ता पनि थिए। मलाई त्यहीँ भनियो — ‘यो कुरा भन, नत्र तेरो ज्यान छैन।’”
उनले थपिन्,“त्यो दिन म एक्ली महिला थिएँ, कोठामा तीन–चार जना पुरुष थिए। बब्लु गुप्ता पैसाका लागि जे पनि गर्न सक्ने मान्छे हुन्। केही दिनअघि माइतीघरमा उहाँलाई भेट्दा पनि उहाँले मेरो आँखामा हेर्न सक्नुभएन।”
पाठकले भनेकी छिन्,“जुन बेला हाम्रो त्यो फोटो सार्वजनिक भयो, त्यतिबेला दुर्गा प्रसाईं र महेश बस्नेतबीच द्वन्द्व चरममा थियो। त्यसबेला प्रसाईंविरुद्ध मुद्दा हाल्ने योजना बनाइयो तर त्यो जिम्मा आसा भारतीलाई दिनुपर्ने भनियो, त्यसैले म अघि बढिनँ।”
यस विषयमा मन्त्री बब्लु गुप्ताको आधिकारिक प्रतिक्रिया आएको छैन। तर उनको निकट स्रोतले यो आरोपलाई “राजनीतिक रूपमा प्रेरित” बताउँदै खण्डन गरेको छ।
स्रोतका अनुसार गुप्ता मन्त्री बनेपछि राजनीतिक र व्यक्तिगत बदनाम गर्ने उद्देश्यले पुराना विषयलाई तोडमोड गरेर प्रस्तुत गरिएको हो।
बब्लु गुप्ताले आजै (आइतबार) राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएर युवा तथा खेलकुद मन्त्रीको रूपमा पदभार ग्रहण गरेका हुन्।
शपथपछि उनले मन्त्रालय र मातहतका निकायका बैठकहरू सार्वजनिक रूपमा लाइभ गर्ने निर्णय गर्दै पदभार सम्हालेका थिए।






