काठमाडौं । ‘जेन–जी आन्दोलन’का क्रममा प्रहरीलाई घेरा हालेर हत्या गरेको अभियोगमा थप पाँच जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार, प्रहरी हत्या प्रकरणमा संलग्न विभिन्न व्यक्तिहरूको खोजतलासका क्रममा उनीहरू फेला परेका हुन्।
पक्राउ पर्नेमा गोरखाका २१ वर्षीय सोमबहादुर गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ र युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ र रामेछापका १६ वर्षीय दीपक मगर रहेका छन्।
‘जेन–जी आन्दोलन’को क्रममा महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत सहायक निरीक्षक (असई) मिलन राय र जवान उत्तम थापा प्रदर्शनकारी बनेर पुगेका केही व्यक्तिको कुटपिटबाट मृत्यु भएका थिए।
प्रहरीका अनुसार उनीहरूलाई कार्यालयबाट तानेर भाटभटेनी सुपरस्टोरको पर्खाल नजिक लगेर कुटपिट गरिएको थियो। त्यसपछि अचेत अवस्थामा रहेका उनीहरूलाई मुख्य सडकको बीच भागमा घिसारेर थप कुटपिट गरिएको थियो, जसका कारण दुबैजनाको मृत्यु भएको जनाइएको छ।
यसअघि सोही घटनामा संलग्न आरोपमा गोरखा भई धुम्बाराही बस्ने २१ वर्षीय सोमबहादुर गुरुङलाई गत सोमबार पक्राउ गरिएको थियो।
सो घटनासँग सम्बन्धित युवराज क्याप्छाकी, सोनाम तामाङ (बुद्धिलाल थिङ), होमप्रसाद पौडेल र टिकाराम विकलाई अदालतको आदेशपछि पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
प्रहरीका अनुसार घटनामा अन्य संलग्न व्यक्ति पहिचानका लागि थप अनुसन्धान भइरहेको छ।
काठमाडौं प्रहरी परिसरले भिडियो फुटेज, प्रत्यक्षदर्शी बयान र डिजिटल प्रमाणका आधारमा संगठित आक्रमणको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।






