व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले वर्तमान सरकारले आफूहरूलाई वार्ताका लागि बोलाएको हो भने त्यसको स्वागत गर्ने बताएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘सरकारले यदि हामीलाई आधिकारिक रूपमा वार्ताका लागि बोलाएको हो भने हामी यसको स्वागत गर्दछौँ। जनताको आवाज सुन्ने यो कदमका लागि ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको छ भन्ने हाम्रो मूल्यांकन छ।’
उनले वार्ताको निम्तो मात्रै होइन, राष्ट्र र नागरिकको हित सुनिश्चित गर्ने ठोस समाधान अब देशले चाहेको समेत बताए ।
यसअघि गृह मन्त्रालयले कुनै पनि मागमा वार्ता र संवादमार्फत समाधार खोज्न सबैमा अनुरोध गरेको थियो ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले हाल सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति तथा समूहका नाममा धर्ना, जुलुस, विरोध प्रदर्शनलगायत आन्दोलनका कार्यक्रमहरू सार्वजनिक भइरहेको विषयमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सबैका जायज माग, चासो एवम् सरोकारलाई सम्बोधन गर्न सरकार गम्भीर रहेको स्पष्ट पारेका थिए ।






