काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई प्रहरीले साँखुमा भएको आगजनी र प्रहरीमाथिको कुटपिट घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ घर भई हाल काठमाडौंको शंखरापुर नगरपालिका–७ बस्ने ४३ वर्षीय प्रल्हाद दाहाल र शंखरापुर नगरपालिका–३ का ४७ वर्षीय सानुकान्छा वाइबा रहेका छन्।
साँखु प्रहरी प्रभागका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ।
यसैबीच, जेनजी आन्दोलनकै क्रममा लुटपाट भएको हतकडी र सोको चाबी सहित एक जना थप व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–२ घर भई हाल काठमाडौंको बालाजु बस्ने २९ वर्षीय साजन श्रेष्ठ रहेका छन्।
प्रहरीले उनलाई कात्तिक ८ गते बेलुकी करिब ७ बजे गोकर्णेश्वर नगरपालिका–७, दक्षिण ढोकाबाट नियन्त्रणमा लिएको जनाएको छ।
घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।






