बाँके —
भाइटीकाको अघिल्लो साँझ बाँकेमा भएको चक्कु प्रहार घटनामा एक युवक गम्भीर घाइते भएका छन्। ढाडमै चक्कु रोपिएपछि उनलाई भारतको लखनउ पुर्‍याई उपचार गरिएको छ।

कोहलपुर नगरपालिका–११ शान्तिटोलका १९ वर्षीय आशिषकुमार ओदालमाथि कात्तिक ५ गते राति करिब ८ बजे एक समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ।

घटनापछि उनलाई ढाडमा चक्कु रोपिएको अवस्थामै नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर पुर्‍याइएको थियो। तर चिकित्सकहरूले चक्कु निकाल्दा ज्यान जोखिममा पर्न सक्ने ठहर गर्दै उनलाई तत्काल भारत रिफर गरेका थिए।

हाल लखनउमा रहेको अस्पतालमा उनको ढाडबाट चक्कु निकालिएको र आइसियुमा राखेर उपचार भइरहेको बताइन्छ।

प्रहरीले सोही राति नै घटनामा संलग्न भएको आशंकामा २४ वर्षीय खगेन्द्र रोकाया, उनका १९ वर्षीय भाइ गणेश रोकाया र कोहलपुर–११ का १९ वर्षीय युवक शाहीलाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी चक्रडम्मर पालका अनुसार, प्रारम्भिक अनुसन्धानले खगेन्द्रले नै चक्कु प्रहार गरेको पुष्टि गरेको छ।

घटनाअघि दुई दिन, कात्तिक ३ गते, आशिष र गणेशबीच सामान्य विवाद भएको थियो। सो विवादकै रिसबीच खगेन्द्रले भाइको तर्फबाट संलग्न हुँदै आशिषमाथि आक्रमण गरेको प्रहरीको भनाइ छ।

“भाइको झगडामा दाजु पनि मिसिएर चक्कु प्रहार गरेको देखिएको छ,” डीएसपी पालले भने, “घटनाको गम्भीर रूपमा अनुसन्धान भइरहेको छ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय