काठमाडौं ।
काठमाडौंको माइतीघरमा ‘जेन–जेड युनाइटेड परिवर्तन’ नामक समूहले अनुमति बिना प्रदर्शन गर्न खोजेपछि प्रहरीले ७६ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार नियन्त्रणमा लिइएकामध्ये ४० जना पुरुष, ३६ जना महिला र ११ जना नाबालिक छन्।
“१३, १४ र १७ वर्षका नाबालिकहरू समेत प्रयोग गरिएको देखिन्छ,” एसपी भट्टराईले बताए। “उनीहरू मध्ये अधिकांश पूर्वी नेपालका — ओखलढुंगा, झापा र मोरङ — बाट आएका हुन्।”
प्रदर्शनमा सहभागी भिमकुमार राईको सवारी साधनमा प्रहरीले चेकजाँच गर्दा बन्दुकजस्ता देखिने पाँच थान काठका वस्तुहरू बरामद गरेको जनाएको छ।
एसपी भट्टराईका अनुसार, “जेन–जेड युनाइटेड परिवर्तनको ब्यानर बोकेर ठूलो समूह एक्कासी माइतीघर आइपुगेपछि सुरक्षाको दृष्टिले उनीहरूलाई नियन्त्रणमा लिनुपर्यो।”
प्रहरीले सार्वजनिक स्थानमा कुनै पनि विरोध प्रदर्शन गर्नुअघि स्थानीय प्रशासनबाट अनुमति लिनुपर्ने व्यवस्था रहेको स्पष्ट पारेको छ।
“सुरक्षाको संवेदनशीलता उच्च भएकाले समन्वय र स्वीकृतिबिना प्रदर्शन गर्न दिइँदैन,” भट्टराईले भने।
यसैबीच गृह मन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै धर्ना, जुलुस र प्रदर्शन नगरी संवादको बाटो अपनाउन अपिल गरेको छ।
मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मुलुकमा स्थायित्व र आगामी निर्वाचनको तयारीलाई असर पुर्याउने गतिविधि नगर्न सबै पक्षलाई आग्रह गरेका छन्।






