एमालेकी पोलिटब्युरो सदस्य शान्ता चौधरीसहित ६ नेताले गृहमन्त्री ओमप्रकाश अर्याललाई १२ बुँदे चेतावनीपत्र दिएका छन्। अर्यालको कार्यशैलीमाथि प्रश्न उठाउँदै नेताहरू चौधरी, भगवती न्यौपाने, पार्वती रावल, अइन्द्र सुन्दर नेम्वाङ, गोविन्द थापा र डा सुन्दरी पोखरेलले चेतावनी पत्र दिएका हुन्।
चेतावनी पत्रमा भनिएको छ- तपाईंको शैली गुण्डागर्दी, दादागिरीको जस्तो भयो। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली जस्तो व्यक्तित्वलाई पक्रन्छु भन्दै धम्की दिनुहुन्छ, उहाँको ज्यानको सुरक्षा हुँदैन भन्ने खालको अभिव्यक्ति दिनुहुन्छ। पक्रने धम्की दिएपछि पक्रने उपाय खोज्नुहुन्छ, उपाय नभेटेपछि फेरि पक्रने धम्की दिनुहुन्छ। फेरि पक्रने उपाय खोज्नुहुन्छ। पक्रने उपाय खोज्ने र धम्की दिने काममै तपाईंले समय बिताइरहनुभएको छ। राजनीतिक दलका नेताहरूलाई वदनाम बनाउने, उनीहरूलाई असुरक्षित बनाउने कामको नेतृत्व तपाईंले नै लिनुभए जस्तो देखिन्छ। एउटा गृहमन्त्रीका रुपमा तपाईंका यस्ता हर्कत जनतालाई कुनै पनि हालतमा स्वीकार्य हुँदैन।
नेताहरूले टीओबी समूहका सदस्यहरूको राष्ट्रिय-अन्तर्राष्ट्रिय कनेक्सन नखोज्न भन्दै प्रहरी प्रशासनलाई गृहमन्त्रीले आदेश दिएको आरोप पनि लगाएका छन्। उनीहरूले टीओबीको कनेक्सन बाहिर ल्याउन पनि माग गरेका छन्।
गृहमन्त्री ओमप्रकाश अर्याललाई चेतावनी पत्र
गृहमन्त्री ओमप्रकाश अर्यालज्यू,
तपाईंको काम, नियत र उद्देश्य ठिक देखिएन। गृह मन्त्रालय तपाईंले कसरी चलाइरहनुभएको छ ? ठीक गरिरहनुभएको छ ? आफैंले आफैंलाई एकपटक सोध्नुस् त, आफैंले आफैंलाई एक पटक हेर्नुस् त। तपाईंहरूले सरकार चलाइरहनुभएको छ कि गिरोह ? हामी प्रश्न गर्छाैं।
हामी तपाईंको सरकारसँग सहमत छैनौं, यो असंवैधानिक सरकार हो, यो षडयन्त्रबाट बनेको सरकार हो, तर, यो ‘सरकार’ चाहिँ हो। यो सरकारसँग असहमत छौं तर असहयोग गर्दैनौं। गिरोह जसरी सरकार चलाएपछि नेकपा एमाले सहितका प्रमुख राजनीतिक दलहरूको सहयोग यो सरकारले पाउन सक्दैन, आम जनताको पनि सहयोग पाउँदैन।
तपाईंको बोलिवचन र क्रियाकलाप मुलुकमा शान्ति र अमनचयन स्थापना गर्नेतर्फ पटक्कै लक्षित देखिँदैन। बरु, मुलुकमा हिँसा र अशान्ति भड्काउने, अराजकता सिर्जना गर्ने, सामाजिक सद्भाव खल्बलाउने, संवैधानिक तथा कानुनी रिक्तता सिर्जना गर्ने तर्फ उद्यत देखिन्छ।
हामीले बाहिरबाट हेर्दा सरसरी देखेका कुरा भन्छौं।
१) सुरक्षा निकायका लुटिएका हतियार र जेलबाट भागेका कैदीवन्दी गम्भीर चुनौती हुन्। लुटिएका हतियार वरामद गर्न प्रहरी प्रशासनलाई वाधा दिने, हतियार सहित पक्राउ परेका कसैलाई कारवाही गर्ने, कसैलाई त्यतिकै छाड्ने काम गरिरहनुभएको छ। खासखास गिरोहका सदस्य भनी पहिचान भएकालाई नपक्रने, पक्रे पनि हतारहतार छाड्न लगाउने तर आक्रोश, उत्तेजना र लहलहैमा हतियार लुट्न पुगेकाहरूलाई चाहिँ कारवाही गर्ने काम गरिरहनुभएको छ। हतियार लुट्ने र लुटिएका हतियार बटुल्ने गिरोहलाई कानुनको कठघरामा ल्याउने तपाईको उद्देश्य पनि देखिएन, नियत पनि देखिएन। राज्यको पहुँच बाहिर लुटिएका हतियार पुराएर ती हतियारको बलमा नयाँ हतियारधारी समूह जन्माउने उद्देश्यलाई तपाईंले सघाउ पुराइरहनुभएको त होइन ? हामी प्रश्न गर्न चाहन्छौं।
२) लुटिएका हतियार संगठित समूहको हातमा नपुगेको, व्यक्तिको हातमा भएको तपाईंले घोषणा गर्नुभएको छ। भदौ २३ र २४ गते संगठित समूहहरूले वितण्डा मच्चाएको तथ्य विभिन्न भिडियोहरूबाट सार्वजनिक भइरहेको छ। वाकीटकी बोकेको समूह, पेस्तोल बोकेको समूह, एउटै ड्रेस लगाएको समूह, एउटै एनजीओका समूह जस्ता विभिन्न समूहले संगठित रुपमा वितण्डा मच्चाएको, आगजनी र तोडफोड गरेको, लुट मच्चाएको तथ्य खुलेआम भइसक्दा पनि तपाईं के आधारमा लुटिएका हतियार संगठित गिरोहको हातमा पुगेको छैन भन्नुहुन्छ ? पुगेको छैन भने किन बरामद गर्नुहुन्न ? लुटिएका हतियार राजनीतिक दलहरूले प्रयोग नगर्ने प्रतिवद्धता गर्नुपर्छ भन्ने तपाईंको अभिव्यक्ति घोर आपत्तिजनक छ। यसको अर्थ तपाईं सबै हतियार वरामद गर्ने पक्षमा हुनुहुन्न। भविष्यमा हिँसालाई अझ उक्साएर बरामद हतियारको बलमा दलहरूले नै हिँसा मच्चाएका हुन् भनेर आरोपित गर्ने तपार्इंको नियत त होइन ? हतियार बरामद गर्नुपर्ने जिम्मेवारीमा तपार्ई हुनुहुन्छ, बरामद गर्ने काम नगर्ने तर दलहरूलाई चाहिँ प्रयोग नगर्ने प्रतिवद्धता गर्नुपर्छ भन्ने तपाईंको अभिव्यक्ति गृहमन्त्रीको जस्तो भएन, गिरोहका नाइकेको जस्तो भयो।
३) भदौ २३ र २४ का सबै घटनालाई एकमुष्ट रुपमा, एउटै रुपमा प्रस्तुत गर्ने दुष्प्रयास तपाईंले गरिरहनुभएको छ। आन्दोलन र अपराधलाई एउटै डालोमा हाल्ने कुप्रयास गरिरहनुभएको छ। जेन्जी पुस्ताको आन्दोलन र आक्रोश एउटा पाटो हो, अपराध, आगजनी, तोडफोड, भौतिक आक्रमण, लुटपाट, डकैती, जेलब्रेक अर्काे पाटो हो। यी सबै घटनालाई एउटै डालोमा हाल्ने अधिकार तपार्ईंलाई कसले दियो ? लोकतान्त्रिक अधिकारको उपभोग गर्दै आन्दोलन गर्न गएका जेन्जी पुस्ता र मौका यही हो भन्दै अपराध गर्न गएकाहरूलाई एउटै ठान्नु कुन नैतिकताले दिन्छ ? के तपाईं आन्दोलनमा गएका सबै जेन्जीहरू अपराधी हुन् भन्ने स्थापित गर्न चाहनुहुन्छ ? कृपया यस्तो दुष्प्रयास नगर्नुहोला।
४) आन्दोलनमा घुसपैठ भएको प्रष्ट मात्र होइन प्रमाणित पनि भइसकेको छ। घुसपैठिया अपराधीहरूलाई किन कारवाही गर्नुहुन्न ? हामीले बुझे अनुसार खासखास गिरोहका सदस्यलाई तपाईंले कारवाही गर्न मानिरहनुभएको छैन, उनीहरू पक्राउ परे भने पनि छाड्न प्रहरीलाई तपाईं, काठमाडौंका मेयर वालेन साह, हामी नेपाली एनजीओका मालिक सुदन गुरुङ लगायतले दवाब दिएको प्रष्ट भइसकेको छ। आक्रोशवस भीडमा मिसिएर अपराधमा सहयोग गरेका कलिला युवाहरूलाई खोजीखोजी पक्रने तर भीडलाई उकासेर आगजनी र तोडफोड गर्ने गिरोहका सदस्य र नाइकेहरूलाई पक्रन नदिने यो तपाईको कस्तो नीति हो ?
५) २३ र २४ गते यस्ता व्यक्तिहरूले पनि वितण्डा मच्चाएका छन् जो विगतमा विभिन्न राजनीतिक दलमा आवद्ध भएको देखिन्छ। त्यस्ता वितण्डाकारीहरूलाई देखाएर आगजनी र लुटपाटमा दलकै कार्यकर्ताहरू थिए, कुनै घुसपैठ थिएन भन्ने स्थापित गर्न खोज्दै हुनुहुन्छ। आगजनी र घुसपैठमा दलका कार्यकर्ता लागेको पुष्टि हुन्छ भने उनीहरूलाई तत्काल गिराफ्तार गर्नुस्, उनीहरूको वचाउमा कुनै पनि दल अगाडि आउँदैनन्, आउन मिल्दैन। तर, २३ र २४ गते हिँसा प्रायोजन गर्ने समूह जसले यो सरकार बनाउने भूमिका खेल्यो, त्यस्तो समूहका हिँसा र आगजनी गर्नेहरूलाई पनि गिरफ्तार गर्नुस्। यो काममा किन आनाकानी गर्नुहुन्छ ?
६) तपाईंको छत्रछायाँमा समानान्तर सरकार उदय गराउन खोजिएको देखिन्छ। राज्यका कुनै पनि पदमा नरहेका, कानुनले नचिनेका गिरोह तथा व्यक्तिहरूले कानुन हातमा लिएर सरकारी निकायहरूलाई आदेश र निर्देश दिइरहेका छन्। त्यस्ता गिरोहहरूले चुनावमा दलहरूलाई भाग लिन नदिने, खासखास नेताहरूलाई उम्मेदवार बन्न नदिने लगायतका धम्की तपाईंकै काखमा बसेर दिइरहेका छन्। गृहमन्त्रीले पनि राजनीतिक दल, नेता तथा जनतालाई धम्की दिने, गृहमन्त्रीको छत्रछायाँमा रहेकाहरूले पनि त्यसरी नै धम्की दिने काम भइरहेको छ। जेन्जी पुस्ताको दुरुपयोग गर्दै गिरोहहरूलाई समानान्तर सरकार चलाउन तपाईंले नै दिँदै हुनुहुन्छ। तपाईंको हातमा सरकार छ, गृह प्रशासन छ, यस अतिरिक्त समानान्तर सरकार पनि भित्रभित्रै चलाउन खोज्नुको उद्देश्य के हो ?
७) समानान्तर सरकार जन्माउने तपाईंहरूको अभीष्ट धेरै कोणबाट छताछुल्ल भइरहेको छ। राज्यका स्थापित संवैधानिक अंगहरूलाई तपाईं संरक्षित गिरोहहरूले निरन्तर निसाना बनाइरहेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सर्वाेच्च अदालत, निर्वाचन आयोग जस्ता अंगहरूमाथि निरन्तर प्रहार गर्न लगाइएको छ, त्यस्ता अंगहरू विरुद्ध धम्कीको भाषा बोल्न लगाइएको छ, गिरोह परिचालन गरिएको छ। विभिन्न सरकारी निकायका पदाधिकारीहरूलाई धम्काइएको छ, भौतिक आक्रमण समेत गर्न लगाइएको छ। आतंकको राज्य सिर्जना गर्न प्रयास गरिँदै छ। यो सरकारले आफू उभिने राजनीतिक जमिन तयार पार्न सकेन, सक्ने लक्षण पनि देखिएन, राजनीतिक रुपमा दह्रो खुट्टाले उभिन सकिने आत्मविश्वास पनि यो सरकारसँग भएन। त्यसैले गिरोहहरू खडा गरेर त्यही गिरोहको बलमा अगाडि बढ्ने तपाईंहरूको नियत देखियो।
८) अपराधीहरूलाई पक्रन वाधा दिएर तपाईंले प्रहरी प्रशासनको मनोबल गिराइरहनुभएको छ। एकातिर प्रहरी प्रशासनको मनोबल खस्काउने, उनीहरूलाई काम गर्न नदिने, प्रहरी प्रशासनलाई तपाईंको तर्फबाट विभिन्न गिरोहले आदेश दिने काम भइरहेको छ। राज्यका स्थापित सुरक्षा संयन्त्रहरूलाई भताभुंग पारेर गिरोहहरूको आदेश चल्ने कस्तो देश बनाउँदै हुनुहुन्छ गृहमन्त्रीज्यू ?
९) निर्वाचनको पहिलो सर्त शान्ति हो, दोस्रो सर्त निष्पक्षता हो, तेस्रो सर्त परिणामको स्वीकार्यता हो। शान्ति सुरक्षा स्थापित गर्ने नियत सरकारको देखिएन, राज्यसत्ताको दुरुपयोग गर्दै दलहरूलाई धम्काउने काम भएको छ, यसबाट निष्पक्षताको प्रत्याभूति भएन। भयावह वातावरण सिर्जना गरेर गरिने चुनावको स्वीकार्यता हुन सक्दैन। समग्रमा भन्ने हो भने चुनाव नै नगर्ने, चुनाव गरे पनि नाटकीय चुनाव गर्ने नियत तपाईंहरूको देखिन्छ।
१०) तपाईंको शैली गुण्डागर्दी, दादागिरीको जस्तो भयो। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली जस्तो व्यक्तित्वलाई पक्रन्छु भन्दै धम्की दिनुहुन्छ, उहाँको ज्यानको सुरक्षा हुँदैन भन्ने खालको अभिव्यक्ति दिनुहुन्छ। पक्रने धम्की दिएपछि पक्रने उपाय खोज्नुहुन्छ, उपाय नभेटेपछि फेरि पक्रने धम्की दिनुहुन्छ। फेरि पक्रने उपाय खोज्नुहुन्छ। पक्रने उपाय खोज्ने र धम्की दिने काममै तपाईंले समय बिताइरहनुभएको छ। राजनीतिक दलका नेताहरूलाई वदनाम बनाउने, उनीहरूलाई असुरक्षित बनाउने कामको नेतृत्व तपाईंले नै लिनुभए जस्तो देखिन्छ। एउटा गृहमन्त्रीका रुपमा तपाईंका यस्ता हर्कत जनतालाई कुनै पनि हालतमा स्वीकार्य हुँदैन।
११) टिओबी (तिब्बत ओरिजन ब्लड) गिरोहका केही सदस्यहरू पक्राउ परेपछि उनीहरूको अन्तराष्ट्रिय र राष्ट्रिय कनेक्सन नखोज्न तपाईंहरूले प्रहरी प्रशासनलाई बारम्बार आदेश दिनुभएको हाम्रो दावी छ। यदी हाम्रो दावी असत्य हो भने तपाईंले टिओबी गिरोहको सम्पूर्ण कनेक्सन उजागर हुने गरी अनुसन्धान गरेर तथ्य बाहिर ल्याउन दिनुहोस्।
१२) जेन्जी पुस्ताले आन्दोलन गरेका थिए तर तपाईंहरूले आन्दोलनलाई ‘दुःखद् घटना’मा सीमित गरिदिनुभएको छ। आन्दोलन र अपराधलाई मिसमास पारेर जेन्जी आन्दोलनलाई तपाईंहरूले ‘दुःखद घटना’ पनि होइन, ‘कालो दुई दिन’ ठहराइदिनुभएको छ। त्यो कालो दुई दिनको षडयन्त्रमा यो सरकार बनेको हो, तपाईं गृहमन्त्री बनेको हो। जसरी सरकार बनेको भए पनि भविष्य सच्याउन सकिन्छ। भविष्य सच्याउने बाटोमा तपाईंहरू हिँड्नभएको छैन, यसले तपाईंहरूलाई हानी गर्छ, देशलाई हानी गर्छ।
अन्त्यमा विशेष आग्रह
आजकै मितिबाट दैनिक पत्रकार सम्मेलन गरेर निम्न तथ्य सार्वजनिक गर्नुहोस्
१) २३ र २४ गतेको घटनाका अपराधी आजका दिन यति संख्यामा पक्राउ गरियो, यति विरुद्ध मुद्दा दायर गरियो भनी विवरण हरेक दिन सार्वजनिक गर्नुहोस्।
२) लुटेका हातहतियार र गोलीगठ्ठा कति संख्यामा बरामद गरिन्छ, हरेक दिन विवरण सार्वजनिक गर्नुस्, त्यस्ता लुटेराहरूको विवरण पनि दैनिक पत्रकार सम्मेलनमा सार्वजनिक गर्नुस्।
३) सरकारी तथा निजी घरहरूमा आगजनी गर्ने, लुटपाट गर्ने व्यक्तिहरू कति पक्राउ पर्छन्, हरेक दिन पत्रकार सम्मेलनमा सार्वजनिक गर्नुहोस्। कतिलाई मुद्दा चलाइन्छ त्यो पनि दिनहुँ सार्वजनिक गर्नुहोस्।
४) समानान्तर सरकारको अभ्यास गर्न खोजिरहेका विभिन्न गिरोहहरूका नाइके र सदस्यलाई पक्राउ गरेर कारवाही गरिएको तथा उनीहरू विरुद्ध मुद्दा चलाइएको विवरण दिनहुँ सार्वजनिक गर्नुहोस्।
यी काम गर्न छानविन आयोगले रोक्दैन। छानविन आयोगको काम बेग्लै छ, तपाईंको काम दैनिक प्रशासन चलाउने हो। छानविन आयोगलाई देखाएर अपराध नियन्त्रण नगर्ने, अपराधी नपक्रने, पक्राउ परेका अपराधीलाई छाड्ने दुष्कर्म नगर्न हामी गम्भीर चेतावनी दिन्छौं।
१) भगवती न्यौपाने, नेकपा एमाले केन्द्रीय सदस्य तथा निवर्तमान मन्त्री
२) शान्ता चौधरी – पोलिट्ब्युरो सदस्य नेकपा (एमाले )
३) पार्वती रावल, नेकपा (एमाले) केन्द्रीय सदस्य
४) अइन्द्र सुन्दर नेम्वाङ, नेकपा एमाले केन्द्रीय सदस्य
५) गोविन्द थापा, नेकपा एमाले केन्द्रीय सदस्य
६) डा. सुन्दरी पोखरेल, नेकपा एमाले शिक्षा विभाग सदस्य।






