काठमाडौं — सरकारले देशभर भइरहेका धर्ना, जुलुस र प्रदर्शनहरू नगर्न सर्वसाधारण र विभिन्न समूहलाई आग्रह गरेको छ।
गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले शनिबार विज्ञप्ति जारी गर्दै सुरक्षा र आगामी निर्वाचनमा असर पर्न सक्ने सम्भावना औंल्याउँदै धर्ना र जुलुसबाट टाढा रहन अनुरोध गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ,
“देशमा अस्थिरता ल्याउन खोज्ने केही स्वार्थ समूहहरूले यस्ता कार्यक्रममा घुसपैठ गरी अशान्ति र अराजकता निम्त्याउन सक्छन्।
त्यसैले आयोजकहरू सचेत रहनु जरुरी छ।”
जेन–जेड आन्दोलनपश्चात् गठन भएको वर्तमान सरकारले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनको वातावरण निर्माणमा ध्यान केन्द्रित गरिरहेको बताइएको छ।
सरकारले जनताको शान्तिपूर्ण बाँच्ने अधिकार, निर्बाध सार्वजनिक सेवा पाउने हक र निर्वाचनमा भाग लिन पाउने स्वतन्त्रता कुण्ठित हुन नदिन सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।
विज्ञप्तिमा भनिएको छ —
“सार्वजनिक सुरक्षा र राष्ट्रिय सुरक्षामा खलल नपुगोस्, साम्प्रदायिक सद्भाव कायम रहोस्, र राष्ट्रिय हितको प्रवर्धनमा सबैले योगदान दिनुपर्छ।”
गृह मन्त्रालयले सबै जायज माग र सरोकारलाई सम्बोधन गर्न सरकार सधैं तयार रहेको दोहोर्याउँदै,
“धर्ना, जुलुस, प्रदर्शन र आन्दोलनजस्ता कार्यक्रम नगरी वार्ता र संवादका माध्यमबाट मागहरू प्रस्तुत गर्न”
सबै पक्षलाई अनुरोध गरेको छ।
प्रवक्ता काफ्लेले भने,
“सरकार नागरिकका हक र अधिकारको सम्मान गर्न प्रतिबद्ध छ। तर अस्थिरता निम्त्याउने गतिविधि रोक्न सबै पक्ष जिम्मेवार हुनुपर्छ।”






