पोखरा – कास्कीको पोखरा–५, पर्स्याङमा शनिबार बिहान ४५ वर्षीय अनिल पराजुलीको हत्या भएको छ।
हत्या आरोपमा स्थानीय २२ वर्षीय किशोर तिमिल्सिना पक्राउ परेका छन्।
कास्की प्रहरीका अनुसार पर्स्याङस्थित चिल्ड्रेन पार्क नजिकै राति मदिरा सेवनका क्रममा दुबैबीच विवाद भएपछि घटनाको सुरुआत भएको हो।
प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार विवाद चर्किएपछि किशोरले धारिलो चक्कु प्रयोग गरी पराजुलीमाथि आक्रमण गरेका थिए।
“राति ३ बजेर ५ मिनेटमा पराजुली अचेत अवस्थामा भेटिएको खबर आएको थियो। उनलाई अस्पताल पुर्याउँदा बिहान ३:४० बजे चिकित्सकले मृत घोषणा गरेका थिए,”
डीएसपी बस्नेतले बताए।
प्रहरीका अनुसार पराजुलीको बायाँ पिठ्युँमा गम्भीर चोट लागेको थियो।
घटनाको प्रारम्भिक अनुसन्धानमा थाहा हुन आएको अनुसार उनीहरूबीच यसअघि पनि सामान्य विवाद भएको थियो।
“दुबै जना स्थानीय हुन्। केही दिनअघि पनि उनीहरूबीच सामान्य भनाभन भएको रहेछ। घटनाको राति सँगै मदिरा सेवन गरेपछि फेरि विवाद भयो,”
डीएसपी बस्नेतले थपे।
किशोरले दिएको प्रारम्भिक बयानअनुसार विवाद बढ्दै जाँदा पराजुलीले उनलाई दुई थप्पड हानेपछि रिसले होटलकै चक्कु लिएर बाहिर निस्केर प्रहार गरेका थिए।
चक्कु मुटु र फोक्सोको आसपास छिरिएकाले पराजुली त्यहीँ ढलेका थिए।
घटनापछि किशोरले इनड्राइभ एपमार्फत मोटरसाइकल बोलाएर लेकसाइड पुगेका र त्यहाँ केही समय लुकेका थिए।
तर प्रहरीले उनका आफन्तको मोबाइलमार्फत सम्पर्क गरी उनलाई राति ४ बजेतिरै नियन्त्रणमा लिन सफल भएको जनाएको छ।
हत्या गर्न प्रयोग गरिएको चक्कु पनि प्रहरीले बरामद गरेको छ।
पराजुलीको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि लगिएको छ।
प्रहरीले घटनाको कारण र पृष्ठभूमिबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।





