काठमाडौं – युट्युब च्यानल प्याराडाइम टिभी पुनः अर्को विवादमा मुछिएको छ। गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारी, साथै भ्लगर सुरक्षा केसी सम्बन्धी विषयमा निर्माण गरिएको एक एपिसोडका कारण च्यानल आलोचनाको केन्द्रमा परेको हो।
उक्त एपिसोडमा उत्सव सापकोटा, क्षितिज केसी लगायतका कन्टेन्ट क्रियटर सहभागी थिए। कार्यक्रममा सुरक्षा केसी र गायिकाद्वय चौहान–अधिकारीको तस्बिर प्रयोग गरिएको थियो। त्यस क्रममा उत्सव सापकोटाले गरेको टिप्पणीप्रति सुरक्षा केसीले कडा आपत्ति जनाएकी छिन्।
सापकोटाले भनेका छन्, “मेरा कुराहरू कसैलाई होच्याउने उद्देश्यका थिएनन्। ती नितान्त ख्यालठट्टाका रूपमा गरिएको थिए।” तर, सुरक्षा केसीले सो टिप्पणीलाई द्धिअर्थी र असभ्य भन्दै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएकी छिन्।
उनले फेसबुकमा लेखेकी छिन्,
“प्याराडाइम, नाटक गर्न बन्द गर। जानी-जानी गरिएको गल्तीको लागि माफी माग्न पर्दैन। यो पश्चाताप होइन, आफ्नो गल्ती लुकाउने प्रयास मात्र हो।”
सुरक्षाको समर्थनमा विभिन्न क्रियटर र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ऐक्यबद्धता जनाएका छन्।
यता, गायिका एलिना चौहानले समेत सो क्लिप शेयर गर्दै आपत्ति जनाएकी छिन्। उनले लेखेकी छिन् –
“तिमीहरू दोषीको साथमा छौ, न्यायको होइन। ‘घरेलु हिंसा’ र ‘बलात्कार’को विरुद्ध आवाज उठाउँदा ‘फसाउँछौ’ भन्नेहरू, लाज मान्दैनौ? तिमीहरू जस्ता पुरुष कसैलाई टीका लगाउन लायक छैनौ। स्त्रीको पीडा मजाक होइन।”
प्याराडाइम टिभीको च्यानलबाट उक्त भिडियो अहिले हटाइएको छ, तर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सो क्लिप विभिन्न प्लेटफर्ममा शेयर गर्न जारी राखेका छन्।
यसअघि पनि प्याराडाइम टिभी क्रिकेटर सन्दीप लामिछानेको विषयमा विवादित बनेको थियो।





