स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–१४ आमडाँडामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा सोही वडाको लामागे लम्सालडाँडाका ४५ वर्षीय माधव लम्साल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी कमल नेपालीका अनुसार, लु ५९ प ३७९७ नम्बरको मोटरसाइकल शनिबार साँझ पुतलीखेत–सातौँ जोड्ने भित्री पक्की सडकमा अनियन्त्रित भई झण्डै एक सय मिटर तल खसेको थियो।
गम्भीर घाइते भएका लम्साललाई तत्काल उपचारका लागि जिल्ला अस्पताल स्याङ्जा पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
मृतक लम्साल हाल राष्ट्रिय कृषि परियोजना एकाइ कार्यालय पोखराका कार्यालय प्रमुखका रूपमा कार्यरत रहेका थिए।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।






