काठमाडौं । झन्डै सात वर्षदेखि प्रेम सम्बन्धमा रहेका गायिका नीतु पौडेल र संगीतकार बाबुल गिरी (धनबहादुर गिरी)बीचको सम्बन्ध अन्ततः दुःखद घटनामा रूपान्तरण भएको छ।
गत शनिबार अनामनगरस्थित गिरीको स्टुडियोमा आत्मदाह प्रयास गरेकी नीतुको शुक्रबार बिहान कीर्तिपुर बर्न अस्पतालमा निधन भएको छ।

संगीत क्षेत्रमा सक्रिय यी दुईबीचको सम्बन्ध करिब सात वर्षअघि सुरु भएको बताइन्छ।
सुरुमा नीतुप्रति एकोहोरो प्रेम राखेका बाबुल पछि नीतुसँग गहिरो सम्बन्धमा बाँधिएका थिए।
अनामनगरमा बस्दै आएकी नीतुको ‘डुर्बिना क्याफे’ पनि बाबुलको स्टुडियोको तलपट्टी नै थियो।
संगीत र व्यवसाय दुबै क्षेत्रमा उनीहरू घनिष्ठ साझेदार बनेका थिए।

एक स्रोतका अनुसार,“सुरुमा बाबुल नै नीतुको पछि लागेका थिए। पछि दुवैको प्रेम प्रगाढ भयो र उनीहरू सँगै बस्ने, गीत रेकर्ड गर्ने, सहकार्य गर्ने गर्थे।”

स्रोतका अनुसार, पछिल्ला केही वर्षयता विवाहलाई लिएर विवाद बढ्दै गएको थियो।
उमेरले तीस नाघेकी नीतुलाई परिवारले विवाहका लागि दबाब दिइरहेका थिए।
परिवारले विदेशमा रहेका केटासँग विवाहको प्रस्ताव ल्याए पनि नीतुले बाबुलबाहेक अरूसँग विवाह नगर्ने अडान लिएकी थिइन्।

तर, बाबुलले विवाह टार्दै जाँदा नीतुमा आत्मसम्पर्क घट्दै, डिप्रेसन बढ्दै गएको बताइन्छ।
एक निकट स्रोतका अनुसार,

“छ महिनायता उनीहरूबीच विवाहका विषयमा दैनिक झगडा हुन्थ्यो। अन्ततः बाबुलले विवाह नगर्ने भन्दै सम्बन्ध तोड्ने संकेत दिएका थिए, जसपछि नीतु अत्यधिक तनावमा थिइन्।”

गत १ कात्तिकमा नीतु बाबुलको अनामनगरस्थित स्टुडियोमा पुगेकी थिइन्।
त्यहाँ उनले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन्।
उनी गम्भीर रूपमा जलेकी थिइन् भने बाबुल पनि उनलाई बचाउने क्रममा सामान्य घाइते भएका थिए।

घटनापछि दुवैलाई कीर्तिपुर बर्न अस्पताल पुर्‍याइएको थियो।
तर, उपचारका क्रममा शुक्रबार बिहान साढे ८ बजे चिकित्सकले नीतुलाई मृत घोषणा गरे।

नीतुको निधनपछि उनका दाइ गणेश पौडेलले बाबुल गिरीविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी प्रहरी वृत्त सिंहदरबारमा दर्ता गरेका छन्।
प्रहरीले जाहेरी दर्ता गरी घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार,

“नीतुकाको मृत्यु आत्मदाहबाट भएको स्पष्ट छ। तर त्यसका कारण र सम्भावित दुरुत्साहनमा कसको भूमिका थियो भन्नेबारे अनुसन्धान भइरहेको छ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय