काठमाडौं । गायिका नीतु पौडेलको मृत्यु प्रकरणमा गायक तथा संगीतकार बाबुल गिरी (धनबहादुर गिरी) विरुद्ध उनको परिवारले औपचारिक जाहेरी दर्ता गरेको छ।
गत शनिबार अनामनगरस्थित गिरीको रेकर्डिङ स्टुडियोमा नीतुले पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेकी थिइन्। उपचारका क्रममा उनी शुक्रबार बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएकी थिइन्।
नीतुका परिवारले शुक्रबार बिहानै जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता गराएका हुन्।
परिवारले जाहेरीमा नीतुलाई मानसिक रूपमा निरन्तर दबाब दिई आत्मदाह गर्न बाध्य बनाएको आरोप गिरीमाथि लगाएको बताइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले भने,
“गायिका पौडेलको परिवारले बाबुल गिरीविरुद्ध जाहेरी दर्ता गरेको छ। अहिले घटनाको प्रारम्भिक अनुसन्धान अघि बढिरहेको छ।”
गत शनिबार दिउँसो नीतु पौडेल अनामनगरस्थित बाबुल गिरीको स्टुडियोमा पुगेकी थिइन्।
त्यहाँ पुग्नेबित्तिकै उनले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन्।
गिरीले उनलाई बचाउने प्रयास गर्दा आफैं पनि सामान्य रूपमा घाइते भएका थिए।
दुवैलाई तत्कालै कीर्तिपुर बर्न अस्पताल लगिएको थियो।
नीतुको निधनपछि प्रहरीले बाबुल गिरीलाई नियन्त्रणमा लिएर बयान लिइरहेको जनाएको छ।
स्रोतका अनुसार प्रहरीले अब प्रेरित आत्महत्या सम्बन्धी फौजदारी अनुसन्धान अघि बढाउने तयारी गरिरहेको छ।
यसअघि पनि आत्मदाह प्रयासपछिको प्रारम्भिक सोधपुछका क्रममा गिरीलाई छुट्टै बयानका लागि बोलाइएको थियो।




