काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार साँझ बालुवाटारमा विघटित प्रतिनिधि सभाका २० दलका नेताहरूसँग आगामी निर्वाचन र सुरक्षा व्यवस्थाबारे छलफल गरेकी छिन्।

छलफलका क्रममा गृहमन्त्री ओमप्रकाश अर्याल र एमाले महासचिव शंकर पोखरेलबीच तीखो वाकयुद्ध भएको बैठकमा सहभागी नेताहरूले बताएका छन्।

गृहमन्त्री अर्यालले आफू ‘एमालेको टार्गेटमा परेको’ र राजनीतिक प्रतिशोध भोग्नुपरेको बताएका थिए भने महासचिव पोखरेलले,

“तिमी पदीय जिम्मेवारीअनुसार काम गरिरहेका छैनौ, गृहमन्त्रीका अभिव्यक्ति अति भएका छन्,”
भन्दै प्रत्युत्तर दिएका थिए।

महासचिव पोखरेलले कसैलाई ‘पकडिहाल्ने’, ‘समातिहाल्ने’ भन्नेजस्ता गृहमन्त्रीका अभिव्यक्ति ‘अति भएको’ बताए ।
त्यसपछि गृहमन्त्री अर्यालले आफू पनि पहिलाको एमाले भएकाले एमालेले कसो गर्थ्यो र अहिले के गरिरहेको छ भन्ने राम्रोसँग जानकारी रहेको बताए । ‘म पनि २०४७ पछिको एमाले हुँ । एमालेले के गर्थ्यो र अहिले के गरिरहेको छ, त्यसबारे राम्रो जानकारी राख्छु,’ अर्यालको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी नेताहरूले भने ।

गृहमन्त्री अर्यालले एमालेको स्कुलिङ अहिलेको जस्तो तर्साउने, थर्काउने र गुण्डागर्दी गर्ने नभएको पनि महासचिव पोखरेललाई स्मरण गराएका थिए ।

अर्यालले सरकारलाई नै दलहरूबाट सुरक्षा चुनौती रहेको बताएका थिए । ‘किमा’ बनाउने, अचार बनाउने जस्ता अभिव्यक्ति जिम्मेवार दलका नेताहरूबाटै आउने गरेको अर्यालको भनाइ थियो । भक्तपुरबाट दुर्गा प्रसाईं र महेश बस्नेतबाट सुरक्षा चुनौती थप्ने काम गरेको अर्यालको गुनासो थियो ।

‘सुरक्षा चुनौती सरकारबाट होइन । राजनीतिक दलहरूबाट सरकारलाई पनि छ । भक्तपुरबाट दुर्गा प्रसाईं र महेश बस्नेतका कारण सुरक्षा चुनौती थपिएको छ,’ अर्यालले भनेका थिए ।

छलफलमा प्रधानमन्त्री कार्की पहिलाको तुलनामा धेरै नरम देखिएकी थिइन् भने आफूलाई ‘प्रेसर फिल’ भएको बताएकी थिइन् । कार्की जसरी पनि निर्वाचन गराउनुपर्छ भन्नेमा दृढ रहेको आफूहरूले पाएको नेताहरू बताउँछन् ।
प्रधानमन्त्री कार्की भने यसपटक नरम र व्यावहारिक देखिएकी थिइन्। उनले निर्वाचन गराउने प्रतिवद्धता जनाउँदै भनिन्,

“चुनावका मुख्य स्टेकहोल्डर राजनीतिक दलहरू नै हुन्। सरकार निर्वाचन गर्न दृढ छ।”

बैठकमा कांग्रेस र एमाले नेताहरूले गृहमन्त्रीको “थुनेकालाई छोड्नुपर्छ” भन्ने अभिव्यक्तिको आलोचना गर्दै सुरक्षा निकायको मनोबल घटाएको आरोप लगाए।

नेताहरूले लुटिएका हतियार र भागेका कैदीहरू निर्वाचन सुरक्षाका मुख्य चुनौती रहेको बताए।
एमालेले प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने धारणा दोहोर्‍यायो भने अन्य दलहरूले निर्वाचन समयमै गर्नुपर्ने अडान राखे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय