काठमाडौं ।देशमा फैलिएको अस्थिरता, भ्रम र दुष्प्रचारबीच प्रधानमन्त्री सुशीला कार्कीलाई मुलुकका प्रतिष्ठित कलाकारहरूले नै साहसिक सन्देश दिएका छन् — “डराउनुपर्ने बेला होइन, देश बचाउने बेला हो।”

बुधबार साँझ बालुवाटारमा भएको भेटमा समकालीन नेपाली सिनेमाका चर्चित नौं जना कलाकारले प्रधानमन्त्री कार्कीलाई भेट्दै भ्रष्टाचारविरुद्धको अभियान र आगामी निर्वाचनलाई अर्जुनदृष्टि बनाएर अघि बढ्न सुझाव दिएका हुन्।

“हामी केही माग्न आएका होइनौँ,” उनीहरूले प्रधानमन्त्रीलाई भन्दै जोडे,

“देश रहे मात्रै माग्ने कुरा माग्न पाइन्छ। अहिले देश बचाउनु सबैभन्दा ठूलो प्राथमिकता हो। हामी तपाईंको साथमा छौँ।”

💬 ‘सम्हाल्न आमा आउनुभएको छ’ — ऋचा शर्मा

अभिनेत्री ऋचा शर्माले प्रधानमन्त्री कार्कीको सरलता र दृढतामा विश्वास व्यक्त गर्दै भनिन्,

“जब हामी सबै डराइरहेका थियौँ, तब आमा सम्हाल्न आउनुभयो। अब हामी ढुक्क छौँ— देश ठिक दिशातिर अघि बढ्नेछ।”

प्रधानमन्त्री कार्की, जसले पहिले नै मुलुकको पहिलो महिला प्रधानन्यायाधीशको रूपमा इतिहास रचिसकेकी थिइन्, अहिले पुनः कठिन घडीमा देश सम्हाल्न आएकी छिन्।

‘सरकार डराएको छैन’ — विपिन कार्की

अभिनेता विपिन कार्कीले गृहमन्त्री ओमप्रकाश अर्यालको अडानको प्रशंसा गर्दै भने,

“गृहमन्त्रीका केही दिनका अभिव्यक्तिले सरकार डराएको छैन भन्ने विश्वास दिलाएको छ। अब लाग्छ, यो सरकार दरिलो रहेछ।”

संगीतकार कालीप्रसाद बाँस्कोटाले सामाजिक सञ्जालमा फैलिरहेको भड्काउने अभियानप्रति चेतावनी दिँदै भने,

“समाज भड्काउन सजिलो छ, तर सम्हाल्न गाह्रो। अहिले भड्काउनेहरू धेरै देखिएका छन्— उनीहरूबाट सचेत रहनु जरुरी छ।”

‘दुष्प्रचार नचिर्ने होइन, चिर्न सकिन्छ’

अभिनेता निश्चल बस्नेतले भने,

“सरकारले नबोलेका कारण चर्को स्वरले कराउने दूषित तत्वहरू हाबी भएका छन्। तर, आफैँलाई सही ठान्नेहरूले डराउनुपर्दैन। हामी तपाईंको पक्षमा छौँ।”

त्यस्तै, अभिनेता विजय बरालले परिवर्तनविरुद्धका तत्वहरूलाई सिधा चेतावनी दिंदै भने,

“परिवर्तनका पक्षमा हामी सारा जनता एकातिर छौँ, जनताबाट तिरष्कृत सानो शक्ति अर्कोतिर। अब समय उनीहरूलाई सिध्याउने हो।”

प्रधानमन्त्रीको जवाफ : “गालीसँग डराउँदिनौँ”

छलफलको अन्त्यमा प्रधानमन्त्री कार्कीले कलाकारहरूको साथ र सुझावप्रति आभार व्यक्त गर्दै भनिन्,

“हाम्रा कमी कमजोरी औँल्याइदिनुहोस्, सुधार्ने प्रयास गर्छौँ। तर असल नियतले काम गर्दा पनि कसैले गाली गर्छ भने डराउँदिनौँ। हाम्रो लक्ष्य स्पष्ट छ।”

भेटमा विजय बराल, सुजित बिडारी, निश्चल बस्नेत, विपिन कार्की, शान बस्न्यात, दिव्यदेव पन्त, कालीप्रसाद बाँस्कोटा, ऋचा शर्मा र कर्मा उपस्थित थिए।
भेटघाटको संयोजन पुकार बमले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय