
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको घरबाट ६४ लाख रुपैयाँ बराबरको सुनचाँदी चोरी गरेको आरोपमा पक्राउ परेका दुई जना धरौटी तिर्न नसकेपछि जेल चलान भएका छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार जेन–जी आन्दोलनका क्रममा कार्कीको ललितपुरस्थित घरमा चोरी भएको थियो। कार्की आफैंले दिएको उजुरीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा उदयपुर कटारी नगरपालिका–७ का २९ वर्षीय सुजन सेवा र महोत्तरी बर्दिबास नगरपालिका–६ का ३० वर्षीय सञ्जय परियार रहेका छन्।
प्रहरी अनुसन्धानपछि उनीहरूलाई जिल्ला अदालत ललितपुरमा पेश गरिएको थियो। अदालतले जनही ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।
तर, दुबै जनाले धरौटी रकम बुझाउन नसकेपछि नख्खु कारागार चलान गरिएको ललितपुरका एसएसपी होविन्द्र बोगटीले जानकारी दिए।
प्रहरीका अनुसार चोरीमा संलग्न समूहका अन्य सदस्यहरूको खोजी पनि जारी छ।