काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूसँग निर्वाचन तयारीका विषयमा आज दिउँसो छलफल गर्न लागेकी छन्। बालुवाटारमा दिउँसो ४ बजे हुने सो बैठकमा नेकपा (एमाले) बाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुने भएका छन्।

प्रधानमन्त्री कार्कीले विघटित संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त सात दलका २–२ जना प्रतिनिधिलाई बालुवाटार बोलाएकी हुन्। छलफलमा आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचनको तयारी र त्यसका चुनौतीहरूबारे केन्द्रित हुने बताइएको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, “प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा हाम्रो पार्टीबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुने तय भएको छ। उनीहरूले बैठकमा पार्टीको स्पष्ट धारणा राख्नेछन्।”

तर, एमालेले भने देशमा तत्काल निर्वाचन हुने अवस्था नरहेको दाबी गर्दै विघटित संसद् पुनःस्थापनाको माग गर्दै आएको छ। हालै सम्पन्न केन्द्रीय समिति बैठकले पनि सोही मागलाई प्रमुख राजनीतिक एजेन्डा बनाउँदै अघि बढ्ने निर्णय गरेको थियो।

अब प्रधानमन्त्री र एमालेबीचको यो भेटले राजनीतिक गतिरोध तोड्ने हो वा अझै नयाँ मोड लिने हो भन्ने चासो राजनीतिक वृत्तमा तीव्र बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय