
काठमाडौँ – बुढानिलकण्ठ नगरपालिका–१३ चुनिखेलस्थित नेवा चुली रिसोर्टमा तासको जुवा चलिरहेको सूचनाका आधारमा प्रहरीले गएराति छापा मारेको छ। छापामा दुई लाख एकतीस हजार रुपैयाँ नगदसहित नौ जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकका सुजन श्रेष्ठ, बुढानिलकण्ठका विकास र राकेश श्रेष्ठ, सुनील श्रेष्ठ, बसुन्धराका सुरज राना, सोह्रखुट्टे नयाँबजारका नामगेल भोलान, मैपीका रामशंकर पराजुली, चुनिखेलका जितेन्द्र तामाङ र जयकुमार श्रेष्ठ छन्।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। घटनास्थलबाट तासका पत्ता र नगद बरामद गरिएको प्रहरीले जनाएको छ।
हाल पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।