
कञ्चनपुर ।तिहारको रौनकले देशभर उज्यालो फैलिएको सोमबार बेलुकी कञ्चनपुरको भीमदत्त नगरपालिका–३, भाषीस्थित मालिकार्जुन टोलमा भने सन्नाटा छाएको थियो।
कारण थियो — दुई वर्षअघि इजरायलमा बन्धक बनेका नेपाली विद्यार्थी विपिन जोशीको शव त्यही दिन घर फर्किनु।
सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका सिलसिलामा दुई वर्षअघि इजरायल गएका २४ वर्षीय विपिन जोशी हमासको आक्रमणमा परेपछि बेपत्ता भएका थिए।
उनको परिवारले निरन्तर रिहाइका लागि इजरायलदेखि अमेरिकासम्मको यात्रा गरे पनि विपिनलाई जिउँदो फर्काउन सकेन।
सोमबार लक्ष्मीपूजाकै दिन, विपिनको शव बाकसमा घर पुगेपछि सिङ्गो टोल शोकमग्न बन्यो।
विपिनकी आमा पद्मा र बहिनी पुष्पा दुवैजना अमेरिका गएका थिए — विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय सहायता माग्न।
तर तिहारका लागि घर फर्किन नपाउँदै उनीहरूले दुःखद् खबर सुन्न पर्यो।
“बहिनी पुष्पा यसपाली भाइटीकामा दाजुसँग भेट हुन्छ भन्ने ठूलो आशामा थिइन्,” परिवारका सदस्य किशोर जोशीले भने,
“तर लक्ष्मीपूजाकै दिन दाजुको शव आँगनमा आइपुग्दा गाउँ नै रोयो।”
परिवारका अनुसार पुष्पाले दाइको निधनको खबर सुनेपछि घरमा सजाइएका सयपत्री फूल उखेलिन्।
इजरायलको नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन द्वारा पठाइएका रिपोर्ट अनुसार विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको पुष्टि भएको छ।
उनको शव सोमबार दिउँसो काठमाडौं ल्याई नेपाली सेनाको स्काइ ट्रकमार्फत धनगढी पुर्याइएको थियो।
राति इजरायली दूतावासका अधिकारीले शव परिवारलाई हस्तान्तरण गरेका थिए।
परिवारका सदस्य किशोर जोशीका अनुसार, विपिनको अन्तिम दाहसंस्कार आज बिहान महाकाली नदीमा गरिएको छ।
सन् २०२३ मा हमासले इजरायलमाथि गरेको आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयका १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए।
विपिन त्यस क्रममा बन्धक बनाइएका विद्यार्थीहरूमध्ये एकमात्र थिए, जसको जीवित अवस्था दुई वर्षसम्म अज्ञात रह्यो।
इजरायल–हमासबीचको युद्धविरामपछि विपिनको मृत्यु भएको आधिकारिक रूपमा पुष्टि गरिएको थियो।
लक्ष्मीपूजाको साँझ, जहाँ देशभर दीप र रङ्गोलीले घर सजाइएका थिए,
मालिकार्जुन टोलमा भने बत्ती निभाइएका थिए, फूल उखेलिएका थिए, र आँसु बगेका थिए।
“दुई वर्षदेखि हामीले हरेक तिहार विपिन फर्किन्छ भन्ने विश्वास गरेका थियौं,”
किशोरले भने,
“तर अहिले शब्द नै छैनन्, सबै सपना राख्ने ठाउँमा बज्रपात भएको छ।”