
काठमाडौं ।‘जेन–जी आन्दोलन’ पछि विदेश भागेको भनेर सार्वजनिक आरोप लागेका पूर्वऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का आइतबार स्वदेश फर्किएका छन्।
विमानस्थल स्रोतका अनुसार उनी भारतबाट सडकमार्ग हुँदै झापाको भद्रपुर पुगेका थिए र आइतबार दिउँसो ४ बजे बुद्ध एयरमार्फत काठमाडौं आएका हुन्।
गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार नयाँ पत्रिकासँगको अन्तर्वार्तामा खड्का विदेश भागेको दाबी गरेका थिए।त्यस बयानपछि खड्का नेपाल फर्किएको बताइएको छ।
राज्यका विभिन्न निकायमा “खड्का परिवार आन्दोलनपछि भारत गयो” भन्ने सूचना पुगेको भए पनि उनले उक्त दाबी अस्वीकार गर्दै “भागेको होइन, उपचारका लागि गएको” बताएका छन्।
खड्काले सोमबार बिहान बुढानीलकण्ठस्थित आफ्नै घरमा उपस्थित भई पत्रकारहरूसँग भेटघाट गरेका थिए।
त्यस क्रममा उनले भने —“२४ गते आन्दोलनका बीचमा म घरमै थिएँ। त्यसपछि केही दिन तराईमा बसें।
बच्चा र श्रीमतीलाई डेंगी भएपछि उपचारका लागि नयाँदिल्लीको वेदान्त अस्पतालमा गएको हुँ।”
उनले वारेन्ट जारी नभएको र राज्यले आफूलाई रोक नलगाएको पनि स्पष्ट पारे।
“सरकारले मलाई वारेन्ट काटेको छ र? बाहिर जान रोक लगाएको छ र? म डराउँदिन,”
उनको भनाइ थियो।
गत २४ भदौको जेन–जी आन्दोलनका क्रममा खड्काको घरबाट ठूलो मात्रामा नगद भेटिएको भिडियो सार्वजनिक भएको थियो।
उक्त विषयमा अहिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विस्तृत अनुसन्धान गरिरहेको छ।
खड्काले गृहमन्त्री ओमप्रकाश अर्याल र केही मिडियाले आफूविरुद्ध भ्रामक प्रचार गरेर समाजमा भ्रम फैलाएको आरोप पनि लगाएका छन्।
उनले भने —
“म बिरामी भएर भारतमा उपचारमा थिएँ, तर सरकारले र मिडियाले मलाई भागेको भनेर अफवाह फैलायो।
यस्तो प्रचारले मेरो परिवारलाई पनि आघात पुर्याएको छ।”
पूर्वमन्त्री खड्काले हालको राजनीतिक अवस्थाबारे पनि प्रतिक्रिया दिएका छन्।
“अहिले सरकारले निर्वाचन घोषणा गरेको छ। यो परिस्थितिजन्य सरकार हो।
राजनीतिक दल र नागरिकले नै मुलुकको जिम्मा लिनुपर्छ,”
उनले भने।