
मकवानपुर ।मकवानपुरको हेटौँडाबाट बलात्कार र चोरीका फरार अभियुक्तहरू पक्राउ परेका छन्।
गत असोज ३१ गते जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका ११ जनामध्ये दुई जना विगतका फरार अभियुक्त भएको खुलेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार, हेटौँडा–१० बाट पक्राउ परेकाहरूको पृष्ठभूमि अनुसन्धान गर्दा २ जना फरार अभियुक्त रहेको तथ्य पत्ता लागेको हो।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये हेटौँडा–१० बस्ने ३७ वर्षीय अर्जुन तामाङ (विजय तामाङ) बलात्कार मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका थिए।
जिल्ला अदालत सिन्धुपाल्चोकले २०७४ साउन ११ गते जबरजस्ती करणी मुद्दामा उनलाई १० वर्ष कैद सजाय सुनाएको थियो।
फैसला भएपछि उनी फरार रहेका थिए।
यस्तै, अर्को फरार अभियुक्त मकवानपुरको बागमती गाउँपालिका–५ ज्यामिरेका २७ वर्षीय राजेश दर्नाल (हेमन्त परियार) हुन्।
उनमाथि चोरी र डाँका मुद्दामा पाँचवटा उजुरी दर्ता भएको पाइएको प्रहरीले जनाएको छ।
उनका विरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुर, प्रहरी परिसर ललितपुर, र प्रहरी वृत्त महाराजगन्ज (काठमाडौं) बाट गरी ५ वटा मुद्दा दर्ता भएका थिए।
डीएसपी बोगटीका अनुसार, असोज ३१ गते हेटौँडा–१० मा जुवातास भइरहेको सूचनाको आधारमा खटिएको टोलीले ११ बुक तास र नगद रु. ६ लाख ६ हजार ३१० सहित ११ जनालाई पक्राउ गरेको थियो।
पछिको अनुसन्धानमै ती दुई जना फरार अभियुक्त रहेको खुलेको हो।
प्रहरीले बाँकी नौजनामाथि जुवा सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको छ भने
बलात्कार र चोरीमा फरार रहेका तामाङ र दर्नाललाई सम्बन्धित अदालत र निकायमा बुझाउने तयारी भइरहेको जनाएको छ।