काठमाडौं ।नेकपा (माओवादी केन्द्र)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले पार्टी सचिवालयको जिम्मेवारीबाट राजीनामा दिएकी छिन्।

गंगाले आफ्नो फेसबुकमार्फत् एक लामो भावनात्मक स्टाटस लेख्दै पछिल्ला दिनमा आफ्ना विरुद्ध सञ्चारमाध्यमहरूमा आएका भ्रामक समाचार र टिप्पणीप्रति गम्भीर दुःख व्यक्त गरेकी छन्।

गंगाका अनुसार, भाइ प्रकाश दाहालको निधनपछि आमा सीता दाहाल बिरामी भएको बेला पार्टी नेताहरूको सल्लाहमा उनले सचिवालयमा जिम्मेवारी लिएकी थिइन्।

“म मम्मीको हेरचाह पनि गर्नुपर्ने र भाइले निभाउँदै आएको भूमिकामा रहेर अध्यक्षलाई सहयोग गर्न पार्टी नेताहरूको सल्लाहमा सचिवालयमा रहेँ,” उनले लेखेकी छन्।

उनले आफूले स्वार्थविहीन भावनाले पार्टी र बुवाको लागि काम गरेको दाबी गर्दै,

“म गर्वका साथ भन्छु, मैले आफ्ना लागि सोचेर कहिले पनि काम गरिन,” भन्दै आत्मआलोचना पनि गरेकी छन्।

गंगाले पार्टीभित्रको वातावरणप्रति असन्तुष्टि जनाउँदै लेखेकी छन् —

“यो ठाँउ नै त्यस्तै हो कि जति राम्रो गर्छु भन्दा पनि, जति नै विवादरहित भएर काम गर्छु भन्दा पनि विवादमा त परिहालिने रहेछ।”

उनले जनयुद्धका समयमा परिवारले राज्यबाट भोगेका पीडा सम्झँदै लेखेकी छन् —

“हामी तीन दिदीबहिनी र भाइलाई जनयुद्धका क्रममा राज्य सत्ताले निरन्तर दुःख दिएको कारण पढाइबाट वञ्चित भई पार्टीमा लाग्यौं।”

गंगाले पछिल्ला दिनमा सञ्चारमाध्यममा आफूविरुद्ध फैलाइएका कुप्रचार र अफवाहको आलोचना गरेकी छन्।

“कहिले कति लाखको ब्याग भनिदिएको छ, कहिले कति लाखको घडी। एक लाख पर्ने घडी वा ब्याग जिन्दगीमा कहिले पनि किनेको छैन,” उनले लेखेकी छन्।

उनका अनुसार ती उपहार साथीले जन्मदिनमा दिएको थियो र अहिले त्यो पनि “जलेर खरानी भइसकेको” छ।

गंगाले आफूलाई देखाएर बुबा प्रचण्ड र माओवादी केन्द्रमाथि योजनाबद्ध रूपमा प्रहार भइरहेको दाबी गरेकी छन्।

“कुप्रचार गर्नेहरूले पार्टी र बुवाविरुद्ध सञ्चार माध्यमको दुरुपयोग गरिरहेका छन्,” उनले लेखेकी छन्।

त्यसै कारण उनले सचिवालयको जिम्मेवारीबाट बाहिरिने निर्णय गरेको बताउँदै लेखेकी छन् —

“यस्तो अवस्थामा मैले सचिवालयको जिम्मेवारीबाट बाहिरिदा नै बुवा, पार्टी र आन्दोलनको लागि राम्रो होला भन्ने निस्कर्षमा पुगेकी छु।”

तर उनले आफू आजीवन पार्टीकी कार्यकर्ता रहने प्रतिबद्धता जनाएकी छन्।

पोष्टको अन्त्यमा गंगाले दिपावली, छठ र नेपाल संवतका अवसरमा शुभकामना दिँदै लेखेकी छन् —

“दिपावलीको दिप जस्तै तपाईँहरूको जीवन उज्यालो बनोस्।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय