
काठमाडौं ।लोकप्रिय टिकटकर आँचल नाथको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहनको अभियोगमा पाँच जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धानका आधारमा मुद्दा दायर गरिएको हो।
अदालतमा दायर मुद्दामा नरेफाँटका २६ वर्षीय सञ्जु विक, अनु भनिने उर्मिला विक, सरु भनिने सरस्वती भण्डारी, २२ वर्षीय राजेश बुढा र लक्ष्मी बुढालाई प्रतिवादी बनाइएको छ।
प्रहरीका अनुसार, पाँचमध्ये सञ्जु विक मात्र पक्राउ परेका छन् भने बाँकी चार जना फरार छन्।
आँचल नाथ केही म्युजिक भिडियोमा देखिएकी मोडल तथा टिकटकर थिइन्। करिब दुई वर्षअघि जापानी भाषा अध्ययनका लागि काठमाडौं आएकी उनले भक्तपुरमा डेरा लिएर बस्दै आएकी थिइन्।
टिकटकमार्फत सञ्जु विकसँग उनको परिचय भएको बताइन्छ। जाहेरीका अनुसार, पछिल्ला दिनमा आँचल र सरस्वती भण्डारीबीच विवाद तीव्र बनेको थियो।
आँचलका भिनाजु प्रकाशनाथ योगीले प्रहरीमा दिएको जाहेरीमा लेखिएको छ,
“सञ्जु विककी श्रीमती उर्मिला विकले समेत विवादलाई उक्साउने काम गरेकी थिइन्। असोज ९ गते सञ्जुको ग्यारेजमा छलफलका क्रममा उनीहरूले गालीगलौज र ज्यान मार्ने धम्की दिएका थिए।”
त्यसपछि आँचलले शरीरमा पेट्रोल छर्किएर आत्मदाह गरेकी थिइन्।
गम्भीर रूपमा घाइते भएपछि सञ्जुले उनलाई काठमाडौं मेडिकल कलेजमा पुर्याए पनि उपचारका क्रममा उनको मृत्यु भएको थियो।
प्रहरीलाई दिएको बयानमा सञ्जुले भने,
“हामीले धम्की दिएका थिएनौँ। आगो बलिरहेको देखेपछि मैले ज्याकेट र पानीले निभाउन खोजेँ। पछि ब्ल्याङ्केटले छोपेर अस्पताल पुर्याएँ।”
मुलुकी अपराध संहिता, २०७४ को दफा १८५ अनुसार,
“कसैलाई आत्महत्या गर्न उक्साउने वा त्यस्तो परिस्थिति खडा गर्ने कार्य गर्न नहुने”
भन्ने प्रावधान छ।त्यस्तो कार्यमा संलग्न प्रमाणित भएमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको सजाय हुने व्यवस्था गरिएको छ।