
काठमाडौँ । काठमाडौँको महाराजगञ्जमा दुई प्रहरीको हत्या गरेको अभियोगमा पक्राउ परेका चारजनालाई कारागार चलान गरिएको छ।
जिल्ला अदालत काठमाडौँको आदेशअनुसार असई मिलन राय र जवान उत्तमसिंह थापाको हत्या आरोपमा पक्राउ परेका चारजनालाई पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
प्रहरी सहायक निरीक्षक (असई) मिलन रायको हत्या आरोपमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी–४ का ६२ वर्षीय होमप्रसाद पौडेल र उदयपुर चौदण्डीगढी–१० का २८ वर्षीय टिकाराम बिक पक्राउ परेका थिए।
प्रहरीका अनुसार उनीहरूलाई हत्याको भिडियो र फोटो प्रमाणका आधारमा पक्राउ गरिएको हो। बयानका क्रममा दुबैजनाले प्रहरी हत्यामा संलग्नता स्वीकार गरेका छन्।
होमप्रसाद पौडेल सन् २०६५ देखि काठमाडौँमा बस्दै आएका थिए। उनले मलेसियामा तीन वर्ष काम गरेर फर्किएपछि धुम्बाराहीमा डेरा गरी बस्दै आएका थिए।
बयानमा उनले भनेका छन् —
“२०५७ सालमा संकटकालको बेला प्रहरीले माओवादी भन्दै बन्दुकको नालले हानेर मेरो आँखा फुटाइदिएको थियो, त्यसपछि नै बदला लिने सोच बनाएको थिएँ।”
उनका अनुसार, घटना हुने दिन आफूले प्रहरी असई रायमाथि आक्रमण गरेर बदला लिएका थिए। पौडेल पछिल्ला दिनमा आफ्नै भतिजको किराना पसलमा मजदुरी गर्थे।
अर्का आरोपी टिकाराम बिक काठमाडौँ–उदयपुर चल्ने रुटको टिकट काउण्टरमा काम गर्थे। मासिक तलब १५ हजार रुपैयाँ हुने उनी ललितपुरको बालकुमारीमा परिवारसहित बस्दै आएका थिए।
उनीमाथि प्रहरीलाई लाठी र चिर्पटले हानेर हत्या गर्ने र महाराजगञ्जबाट हतियार लुट्ने आरोपसमेत छ।
यसअघि प्रहरीले जवान उत्तमसिंह थापाको हत्या आरोपमा काभ्रेको रोशी–९ का २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुर थाहा–७ का २१ वर्षीय सोनाम तामाङ (बुद्धिलाल थिङ) लाई पक्राउ गरी थुनामा पठाएको थियो।
प्रहरीका अनुसार भदौ २४ गते सादा पोसाकमा ड्युटीमा खटिएका थापामाथि जेन–जी आन्दोलनमा संलग्न समूहले क्रूर ढंगले आक्रमण गरेको थियो।
हत्यापछि पनि थापाको शव सडकमा घिसारिएको र फालिएको भिडियो सार्वजनिक भएको थियो। पछि नेपाली सेनाको टोलीले शव फिर्ता ल्याई प्रहरी अस्पताल लगेको थियो।
मृतकका काका ईश्वरसिंह थापाले आफ्ना भतिजको हत्यामा संलग्नको पहिचान गरी कडा कारबाहीको माग गर्दै जाहेरी दिएका छन्।
प्रहरीका अनुसार, चारै अभियुक्तले बयानमा हत्यामा संलग्नता स्वीकार गरेका छन्।
युवराज क्याप्छाकी मासु पसलमा डेलिभरीको काम गर्थे र उनले प्रहरी कार्यालयमा आगजनी, तोडफोड, चोरी र आक्रमण गरेको स्वीकारेका छन्।
बुद्धिलाल थिङ टोखाको ब्रदर्स रेस्टुरेन्ट एन्ड स्नुकर हाउसमा कुकका रूपमा काम गर्थे र उनले पनि प्रहरी कुटपिट र हत्या गरेको बताएका छन्।
उनीहरूले प्रहरी कुटपिट गरेको भिडियो आफैंले खिचेको समेत खुलेको छ।
सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध ज्यान सम्बन्धी कसुर, आपराधिक उपद्रव र एकीकृत कसुर अन्तर्गत मुद्दा दर्ता गरेको छ।
अभियोजनपत्रमा जीवनकैद सजाय तथा पीडित परिवारलाई क्षतिपूर्ति भराउने माग गरिएको छ।
अभियुक्तबाहेक अन्य व्यक्तिको संलग्नता खुलेमा फेरि पक्राउ गरी पेस गर्ने उल्लेख समेत अभियोगपत्रमा गरिएको छ।