
काठमाडौं — २४ भदौको जेनजी आन्दोलनका क्रममा प्रहरी सहायक निरीक्षक (असई) मिलन रायको कुटीकुटी हत्या भएको घटनामा संलग्न आरोपमा पक्राउ परेका दुई जनामाथि कर्तव्य ज्यान र आपराधिक उपद्रवको मुद्दा दायर गरिएको छ।
मुद्दा परेकामध्ये एक जना माओवादी युद्धकालमा आँखाको दृष्टि गुमाएका ६२ वर्षीय होम पौडेल हुन् भने अर्का २८ वर्षीय टीकाराम विक नयाँबसपार्कस्थित बस काउन्टरका कर्मचारी हुन्।
२४ भदौमा महाराजगञ्ज क्षेत्रमा जेनजी आन्दोलन तीव्र हुँदा असई रायलाई प्रदर्शनकारीले घेरि निर्दयतापूर्वक कुटपिट गरी हत्या गरेका थिए।
सो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
प्रहरी अनुसन्धानअनुसार, राय भुइँमा ढलेपछि होम पौडेलले काठको लौरोले टाउकामा प्रहार गरेका थिए, जसबाट उनको मृत्यु भएको थियो।
त्यसपछि रायको मुखमा पिसाबसमेत गरिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
प्रहरी अनुसन्धानको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले दुवै विरुद्ध कर्तव्य ज्यान र आपराधिक उपद्रवको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ७ असोजमा सिन्धुपाल्चोकका होम पौडेललाई पक्राउ गरेको थियो।
उनले प्रहरीलाई देख्दा रिस उठ्ने बताएर स्वीकारोक्ति दिएका छन् —
“२०५७ सालमा प्रहरीले माओवादी भन्दै बन्दुकको नालले हानेर मेरो दाहिने आँखा फुटायो। त्यसपछि प्रहरी देख्यो कि रिस उठ्छ।”
पौडेल पछिल्ला वर्षमा धुम्बाराहीमा बस्दै आफ्ना भतिजको किराना पसलमा काम गर्दै आएका थिए।
त्यही क्षेत्रमा असई रायमाथि आक्रमण भएको थियो।
अर्का अभियुक्त टीकाराम विक नयाँबसपार्कमा टिकट काट्ने काम गर्थे।
विद्यार्थीको मृत्यु भएको खबरले आक्रोशित भएर उनी पनि प्रदर्शनमा सहभागी भएका थिए।
उनले पनि रायमाथि आक्रमण गरेको र घाइते बनाएर हिँडेको बयान दिएका छन्।
मोबाइल लोकेसन अनुसार असई राय १२:४६ देखि १३:५५ बजेसम्म धुम्बाराही–बुढानीलकण्ठ क्षेत्रमै थिए।
त्यसै समयमा पौडेल र विक पनि उक्त क्षेत्रमा देखिएको अनुसन्धानले पुष्टि गरेको छ।
असई राय २४ भदौको मध्यान्ह न्युरो अस्पतालमा मुचुल्का लिन पुगेका थिए।
काम सकेर कार्यालय फर्किएपछि उग्र बनेका प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गर्दा उनी मारिएका थिए।
त्यो दिन प्रहरी भवनमा तोडफोड र आगजनीसम्म भएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार,
“यी दुई जनाको भूमिकामा पर्याप्त प्रमाण भेटिएको छ। अन्य व्यक्तिहरूको संलग्नता पनि हुनसक्ने देखिएकाले थप अनुसन्धान जारी छ।”