आइतबार , कार्तिक २, २०८२

काठमाडौं — जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति घोषणा गरिसकेको छ। आगामी चुनावलाई लक्षित गर्दै जेनजी आन्दोलनका प्रतिनिधिहरू नयाँ राजनीतिक दल गठनमा सक्रिय भएका छन्।

शनिबार मात्र मिराज ढुंगानाले नयाँ पार्टी गठनको घोषणा गरेका छन्, जबकि अन्य जेनजी नेताहरू भने एकीकृत दल बनाउने प्रयासमा छन्। यस प्रयत्नमा जेनजी प्रतिनिधिहरूसँगै सामाजिक अभियन्ता र स्थापित व्यक्तिहरू पनि जोडिँदै छन्।

विश्वसनीय स्रोतका अनुसार, काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह, पूर्व सांसद सुमना श्रेष्ठ, फिल्म निर्देशक निश्चल बस्नेत, सुधन गुरुङ र पुरुषोत्तम यादवसहितका नेताहरू नयाँ दल गठनको तयारीको अन्तिम चरणमा पुगेका छन्।

निर्देशक बस्नेतले भने, “देशको वर्तमान अवस्थाले हामीलाई एक ठाउँमा ल्याएको हो। बालेन र सुमनालगायत सबैलाई एउटै मोर्चामा ल्याउने प्रयास भइरहेको छ। पार्टीको नाम र नेतृत्व अझै टुंगिएको छैन।”

उनले आफू सक्रिय राजनीतिमा प्रवेश गर्ने योजनामा नभएको स्पष्ट गर्दै भने,“म राजनीतिज्ञ होइन, मेरो काम फिल्म बनाउने हो। म त बस् सबै एक ठाउँमा आउन् र राम्रो होस् भन्ने चाहनाले सघाइरहेको छु।”

बस्नेत जेनजी आन्दोलनका सक्रिय समर्थक हुन्। उनले भदौ २३ गतेको प्रदर्शनमा समर्थन जनाउँदै टिकटकमा भिडियो पनि पोस्ट गरेका थिए।

जेनजी आन्दोलनपछि युवा पुस्ताको राजनीतिक जागरण बढ्दै गएको छ र नयाँ दलको उदयले आगामी चुनावमा नयाँ शक्ति उदाउने संकेत गरेको विश्लेषकहरूले जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय