
काठमाडौं — गायिका नीतु पौडेलले हिजो आत्मदाह प्रयास गरेकी घटनाले नेपाली संगीत क्षेत्र स्तब्ध बनाएको छ। घटना गायक तथा संगीतकार बाबुल गिरीको अनामनगरस्थित एरेन्ज स्टुडियोमै भएको हो।
स्रोतका अनुसार, नीतु र बाबुल लामो समयदेखि प्रेम सम्बन्धमा थिए, तर पछिल्लो समय विवाहका विषयमा विवाद बढ्दै गएको थियो।
हिजो दिनभर बाबुलसँग विवाद भएपछि नीतुले स्टुडियोको तल्लो तलामा झरेर शरीरमा पेट्रोल छर्किएर आगो लगाएकी थिइन्।
बाबुलले आगो निभाउने प्रयास गर्दा उनी पनि सामान्य रूपमा घाइते भएका छन्। दुवैलाई तत्काल प्रहरीको सहयोगमा किर्तिपुर बर्न अस्पताल लगिएको थियो।
डाक्टरका अनुसार नीतु पौडेलको अवस्था गम्भीर रहेको छ भने बाबुल सामान्य घाइते भई हिजै डिस्चार्ज भएका छन्। डिस्चार्जपछि उनलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ।
नीतुसँग नजिकका स्रोतका अनुसार, उनी बाबुलसँग विवाह गर्न चाहन्थिन्, तर बाबुल टारिरहेका थिए। पछिल्लो समय ‘छक्कापञ्जा ५’ को हिट गीत ‘बल्ल बुझेँ चाल तेरो…’ पछि बाबुलको चर्चा बढेसँगै सम्बन्धमा दूरी आएको बताइन्छ।
आत्मदाह प्रयास गर्नु अघि नीतुले आफ्नो फेसबुक स्टोरीमा लेखेकी थिइन् —
“आज मैले जीवनको सबैभन्दा ठूलो निर्णय लिँदैछु अब।”
रसुवाकी नीतु थियटर क्षेत्रबाट संगीतमा प्रवेश गरेकी हुन् र पछिल्लो समय संघर्षरत कलाकारका रूपमा चिनिँदै आएकी थिइन्।