
बाजुरा । बुढीगंगा नगरपालिकाले एकैपटक १ सय २० भन्दा बढी अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई बिदा गरेको छ।
नगरपालिकाको ४९औँ कार्यपालिका बैठकले असोज मसान्तसँगै ती कर्मचारीहरूको म्याद थप नगर्ने निर्णय गरेको हो।
नगर प्रमुख रामबहादुर बानियाँका अनुसार सो निर्णय सुदूरपश्चिम प्रदेशसभाले पारित गरेको स्थानीय सेवा गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी ऐन बमोजिम गरिएको हो।
“प्रदेश सरकारको ऐन अनुसार हामीले कर्मचारीलाई बिदा गरेका हौं। प्रदेशको कानुन कार्यान्वयन गर्ने हामी सुदूरपश्चिमको पहिलो स्थानीय तह बनेका छौं,” — मेयर बानियाँ
उनका अनुसार नगरपालिकाले अब सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (O&M) गरेर स्थायी कर्मचारीको व्यवस्थापन गर्ने तयारी गरेको छ। विज्ञको सहयोगमा प्रत्येक कार्यालय र स्वास्थ्य संस्थामा आवश्यक जनशक्तिको संख्या निर्धारण गरिने बताइएको छ।
बुढीगंगा नगरपालिकाले यसअघि विकास कचहरी आयोजना गरेर स्थानीय तहको विकास दर बढाउने सन्देश दिएको थियो। अहिले अस्थायी कर्मचारी बिदा गरेर नगरपालिकाले ठूलो आर्थिक भार घटाएको पनि मेयर बानियाँले बताए।