
काठमाडौं । नेपाली चलचित्रकी चर्चित नायिका वर्षा राउत पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा चर्चाको केन्द्र बनेकी छन् । उनले आफ्नै श्रीमान् सञ्जोग कोइरालाको ‘Ex’ सँगको कुराकानी सार्वजनिक गरेपछि उनीहरूबीचको सम्बन्धमा तनाव चुलिएको छ भन्ने अड्कलबाजी फैलिएको छ ।
शनिबार बिहान वर्षाले आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत श्रीमान् सञ्जोग र एक युवतीबीचको च्याट भिडियो सार्वजनिक गरेकी थिइन् । त्यसअघि उनले लेखेकी थिइन्, “लेट्स सी हाउ लक्की इज वर्षा है त।” उक्त पोस्टले तुरुन्तै सामाजिक सञ्जालमा हल्लीखल्ली मच्चायो ।
उनले पोस्ट गरेको भिडियोमा सञ्जोग र ती युवतीबीच लामो समयदेखि सम्पर्कमा रहेको आशय झल्किन्छ । केही बेरमै वर्षाले उक्त पोस्ट डिलिट गरेकी थिइन्, तर त्यसको स्क्रिनशट र भिडियो क्लिप्स अहिले पनि सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
उता, सञ्जोग कोइरालाले पनि इन्स्टाग्राममार्फत भावनात्मक प्रतिक्रिया दिएका छन् । कवितामय शैलीमा लेखिएको उनको पोस्टमा उनले लेखेका छन्, “पुरानो घाउ कोट्याउँदा पोल्छ, तर अघि बढ्ने बाटो रोक्दैन।” जसले यो विवाद पुरानो घटनासँग सम्बन्धित भएको सङ्केत गर्छ ।
यसअघि पनि वर्षा र सञ्जोगबीच कहिलेकाहीँ मतभेदका खबरहरू आएका थिए, तर उनीहरूले कहिल्यै सार्वजनिक रूपमा स्वीकारेका थिएनन् । पछिल्लो समय दुबैले विज्ञापनदेखि सामाजिक सञ्जालसम्म सँगै देखिँदै आएका थिए ।
तर अहिले ‘Ex’ सम्बन्धी कुरा बाहिरिएपछि उनीहरूको वैवाहिक जीवनमा खलल पुग्ने चिन्ता शुभचिन्तकहरूले व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा धेरैले वर्षालाई धैर्य राख्न सल्लाह दिएका छन् ।