
काठमाडौं – भाइरल झाँक्री प्रकाश भुजेलले एक म्यानपावर व्यवसायीलाई अपहरण र कुटपिट गरेको आरोप लागेपछि व्यवसायी पक्षधरहरूले उनको कार्यालयमा तोडफोड गरेका छन्।
प्रहरी वृत्त, गोकर्णका अनुसार नारायणटारस्थित झाँक्री तथा तान्त्रिक संघको कार्यालयमा तोडफोड गरिएको हो। उक्त संघका अध्यक्ष भुजेल नै हुन्।
शुक्रबार बेलुकी भुजेलले एक म्यानपावर व्यवसायीलाई अपहरण गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर पुर्याएर कुटपिट गरेको आरोप लगाइएको छ। पीडित गल्फ म्यानेजमेन्ट प्रालिका सञ्चालक रहेको प्रहरी स्रोतले जनाएको छ।
कुटपिटपछि आक्रोशित व्यवसायी पक्षले भुजेलको कार्यालय घेराउ गरी तोडफोड गरेको हो। कार्यालयमा तनाव बढेपछि भुजेल भागेर काँडाघारीतर्फ गएको बताइएको छ।
व्यवसायी पक्षले भुजेललाई उपस्थित गराउन माग गर्दै अहिले काँडाघारीस्थित प्रहरी प्रभागलाई घेराउ गरेको छ। प्रहरीका अनुसार, घटनाको सत्यतथ्य बुझेर दुवै पक्षबीच समन्वय र मध्यस्थता गराउने प्रयास भइरहेको छ।