
नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा सिंहदरबार, बालुवाटार र अन्य संरचना जोगाउन खोजेको भए ठूलो मानवीय क्षति हुने सम्भावना रहेको स्पष्टीकरण दिएको छ।
सेनाको युद्धकार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले बिहीबार पत्रकारसँग कुरा गर्दै भने,“हामीले आन्दोलनकारीलाई गेटबाट पटक–पटक हटायौँ, सम्झायौँ पनि। तर जबर्जस्ती चारैतिरबाट प्रवेश गरेपछि दुई विकल्प मात्रै थिए — ठूलो क्षति हुने गरी बल प्रयोग गर्ने वा पछि हट्ने। हामीले स्थिति विश्लेषण गरेर दोस्रो विकल्प रोज्यौँ।”
सेनाका सहायक रथी मनोज थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब २ हजार आन्दोलनकारी आक्रमण गर्न आएका बेला सेनाले त्यसलाई रोक्न सफल भएको बताए।
उनका अनुसार,“१५ जना आन्दोलनकारी पेट्रोलसहित विमानस्थलभित्र प्रवेश गर्न खोजिरहेका थिए। यदि त्यहाँ क्षति पुगेको भए देशको अन्तर्राष्ट्रिय छवि गम्भीर रूपमा धमिलिन्थ्यो।”
सेनाले आन्दोलनका बीचमा विमानस्थल सञ्चालन पुनः सुरु गराएको र फसेका विदेशी पर्यटकहरूलाई पनि सुरक्षित राखेको दाबी गरेको छ।
२४ गते राति पशुपतिनाथ मन्दिरमा भेला भएका प्रदर्शनकारीलाई हटाएर मन्दिर सुरक्षित राखिएको सेनाको भनाइ छ।
त्यस्तै, सिंहदरबारमा आगो लागे पनि राष्ट्रिय सुरक्षा परिषद्, रक्षा मन्त्रालय र अर्थ मन्त्रालयको डाटा सेन्टर जोगाउन सफल भएको सेनाको दाबी छ।
जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले लुटाएका ९७८ नाल हतियारमध्ये ५८६ फिर्ता गरिएको सेनाले जनाएको छ।
उपत्यकाभित्र फेला परेका हतियार प्रहरी र सशस्त्र प्रहरीलाई बुझाइएको छ भने बाँकी फिर्ता गर्ने प्रक्रिया चलिरहेको छ।
आन्दोलनका क्रममा १,५८० कार्यालय र निजी घरहरूमा क्षति पुगेको सेनाले जनाएको छ।
त्यसमध्ये ६८८ सरकारी कार्यालय, ३०७ प्रहरी कार्यालय, २५९ निजी निवास, १२८ व्यापारिक प्रतिष्ठान र १९८ राजनीतिक दलका कार्यालय रहेका छन्।
सेनाले १९० जना भीभीआईपी, भीआईपी र परिवारलाई सुरक्षा प्रदान गरेको, जसमा ६१ जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको जनाएको छ।
त्यसमध्ये तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति रामचन्द्र पौडेल लगायत शीर्ष नेताहरू रहेका थिए।
सेनाको विवरण अनुसार ७६ जनाको मृत्यु भएको थियो — जसमा २२ जना प्रदर्शनकारी, ३ जना प्रहरी, १० जना कैदीबन्दी र ४१ जना अन्य थिए।
सेनाले जेनजी आन्दोलन भड्काउन मुख्य भूमिका खेलेको भनिएको ‘टिबेटन ओरिजिनल ब्लड (टीओबी)’ समूहबारे अध्ययन भइरहेको जनाएको छ।
यो समूहले मोटरसाइकलबाट भीड उक्साएको भिडियो सार्वजनिक भइसकेको छ।