जिल्ला प्रशासन कार्यालय काठमाडौँले दीपावली (तिहार)को अवसरमा कानुनद्वारा निषेधित गतिविधि नगर्न र नगराउन आग्रह गरेको छ।

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै मैनबत्ती र बिजुली प्रयोग गर्दा सावधानी अपनाउन, आतिसबाजी, पटाका, भुइँचम्पा तथा अन्य विस्फोटक पदार्थको खरिद–बिक्री, ढुवानी, भण्डारण र प्रयोग नगर्न अनुरोध गरेको हो।

त्यस्तै, देउसी–भैलो कार्यक्रम बेलुका ९ बजेसम्म मात्र मर्यादित, अनुशासित र व्यवस्थित ढङ्गले गर्नुपर्ने प्रशासनले जनाएको छ।

सूचनामा भनिएको छ —“सार्वजनिक सडक वा पदमार्गमा अवरोध हुने गरी देउसी–भैलो खेल्न पाइने छैन। सार्वजनिक स्थानमा आवागमन रोक्ने गरी पूजा मण्डप वा दीपावली थलो निर्माण नगर्न।”

प्रशासनले चाडपर्वको समयमा चोरी–डकैतीको जोखिम बढ्ने भएकाले घर–घरमा सतर्कता अपनाउन, छिमेकीलाई जानकारी दिन र शंकास्पद व्यक्ति देखिएमा नजिकको प्रहरीलाई खबर गर्न समेत आग्रह गरेको छ।

त्यस्तै, कालोबजारी, कृत्रिम अभाव, म्याद नाघेका वस्तु बिक्री जस्ता गतिविधिमा संलग्न नहुन व्यवसायीहरूलाई चेतावनी दिइएको छ।

सवारी चालकलाई मादक पदार्थ सेवन नगरी सवारी चलाउन, बढी भाडा नलिन र ट्राफिक नियम पालना गर्न आग्रह गरिएको छ।

अन्त्यमा, प्रशासनले अनलाइन ठगी, अवैध जुवा–तास, र गैरकानुनी चिठ्ठा कारोबारबाट सचेत रहन सबै नागरिकलाई अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय