
काठमाडौँ । आफूलाई ‘जेनजी आन्दोलनको अगुवा’ भन्दै सरकारी कर्मचारीलाई धम्क्याउँदै हिँड्ने अर्जुन शाहीलाई प्रहरीले पक्राउ गरेको छ। उनले प्रहरीको परिचयपत्र दुरुपयोग गरेको तथ्य पनि भेटिएको छ।
काठमाडौँ प्रहरी परिसरले बुधबार शाहीलाई पक्राउ गरी हिरासतमा राखी अनुसन्धान सुरु गरेको जनाएको छ।
अनुसन्धानका क्रममा उनले केही दिनअघि चाबहिलस्थित एक होटलमा प्रहरी परिचयपत्र देखाएर कोठा लिएको फेला परेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए।
भट्टराईका अनुसार उक्त परिचयपत्र शाहीले जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटेको दाबी प्रहरीले गरेको छ। त्यो परिचयपत्र अख्तियारमा कार्यरत सहायक निरीक्षक (असई) को नाममा रहेको पाइएको हो।
प्रहरीको आशंका छ — शाहीले सो परिचयपत्र देखाएर अन्य व्यक्तिलाई पनि धम्क्याउने र ठगी गर्ने गतिविधिमा संलग्न थिए।
जेनजी आन्दोलनपछि उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न सरकारी कार्यालयका कर्मचारीलाई धम्क्याउँदै राजीनामा माग्ने कार्य गर्दै आएका थिए।
यसअघि पनि शाहीमाथि वैदेशिक रोजगारीका नाममा ठगी गरेको अभियोगमा मुद्दा दर्ता भइसकेको प्रहरीले जनाएको छ।
उनले जापान पठाउने भन्दै रकम असुलेको उजुरीका आधारमा गत वैशाखमा पनि पक्राउ परेका थिए।
त्यस्तै, शाहीविरुद्ध विभिन्न प्रहरी वृत्तहरूमा चेक बाउन्स र ठगीका उजुरीहरू पनि दर्ता भएका छन्।
महाराजगन्ज, बौद्ध र स्वयम्भू प्रहरी वृत्तमा दर्ता उजुरीहरूमा उनीमाथि लाखौं रुपैयाँ ठगीको आरोप लगाइएको छ।
प्रहरीले हाल उनका सबै मुद्दा एकैसाथ संकलन गरी थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।